भारतमा काेराेनाः एकैदिनमा झण्डै २० हजार सङ्क्रमित, ४१० जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गएको छ ।
विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ ।
कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९०६ जना सङ्क्रमित भएका हुन् ।
योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २८ हजार ८५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख तीन हजार ५१ पुगेको छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भई घर फर्केकाहरुको सङ्ख्या तीन लाख नौ हजार ७३१ पुगेको अधिकारीहरुले जनाएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ४१० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या १६ हजार ९५ पुगेको जनाइएको छ । (रासस/एएनआई)