मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘जनताको बहुदलिय जनवाद’ कहाँ छ कमरेड ?

बामपन्थी राजनीतिज्ञ लेखक प्रदीप नेपालले मदन भण्डारीको पहिलो सिद्धान्त जनता रहेको भएपनि अहिलेका कम्युनिस्टहरुमा पहिलो म भन्ने सिद्धान्त हावी भएको बताएका छन् । बाम बुद्धिजिवी नेपालले नेपाल कम्युनिस्ट पार्टीभित्र ब्यक्तिवाद हावी भएको भन्दै मदन भण्डारीको सिद्धान्त जनता तेस्रो तहमा पुगेको टिप्पणी गरे ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमा लेख्दै नेता नेपालले मदन भण्डारीको नेकपामा पहिलो जनता, दोस्रो सिद्धान्त र तेस्रोमा म अर्थात आफु रहेको भएपनि अहिलेको नेकपामा पहिलो म दोस्रो मेरा मान्छे र तेस्रोमा जनता पुगेको चर्चा गरेका छन् । ‘ मदन भण्डारीको नेकपा–पहिलो जनता, दोश्रो सिध्दान्त, तेश्रो म । आजको नेकपा‘ पहिलो म, दोश्रो मेरा मान्छे, तेश्रो जनता ।’ नेपालले लेखेका छन् ।

मदन भण्डारी सर्वहारा जनताका कुरा गर्दथे, अहिलेका कम्युनिस्टहरु पद र पैसाको कुरा गर्छन् । मदन भण्डारी साइकल चढ्थे, गुन्द्रुक भात खान्थे । अहिलेका कम्युनिस्टहरु प्राडो, पजेरो चढ्छन्, करोडौंको हेलिकप्टर चढ्छन् । इटालीको पिज्जा र वर्गरमा रमाउँछन् ।

त्यसो त अहिलेको नेकपाभित्र मदन भण्डारीलाई सम्मान गर्नेहरु भन्दा उनका नाममा सत्तामा पुग्नेहरुको हावी छ जसले मदन भण्डारी र जनताको बहुदलीय जनवादको मन्त्र जन्मजयन्ती र स्मृति दिवसमा मात्र जप्ने गर्दछन् ।

नेकपाले त मदन भण्डारीलाई अहिले ब्यापारीक ब्राण्ड बनाएको छ । देशका विभिन्न स्थानमा पार्टीका नेता तथा कार्यकर्ताहरुले मदन भण्डारीका नाममा ब्यापार फैलाएका छन् । स्कुल, कलेज र विश्वविद्यालय खडा गरेका छन् । अस्पताल चलाएका छन् । एनजिओ आइएनजिओ चलाएका छन् । विदेशी डलरको खेती गरेका छन् । जहाँ सर्वहारा जनताले ठाडो गरी हेर्न सक्दैनन् । तिनका छोराछोरीले प्रवेश गर्न पाउँदैनन् ।

मदन भण्डारी सर्वहारा जनताका कुरा गर्दथे, अहिलेका कम्युनिस्टहरु पद र पैसाको कुरा गर्छन् । मदन भण्डारी साइकल चढ्थे, गुन्द्रुक भात खान्थे । अहिलेका कम्युनिस्टहरु प्राडो, पजेरो चढ्छन्, करोडौंको हेलिकप्टर चढ्छन् । इटालीको पिज्जा र वर्गरमा रमाउँछन् । मदन भण्डारी गाई गोठमा सुत्थे, अहिलेका भण्डारीहरु करोडौंको महलमा सुकला गराउँदा पनि जस दिँदैनन् ।

मदन भण्डारीको हत्यारा कहिले पत्ता लगाउने ?
मदन भण्डारीको २०५० सालमा दासढुंगामा जिप दुर्घटनामा निधन भयो । उनको मृत्युलाई हत्याको संज्ञा दिँदै तत्कालिन नेकपा एमालेले राजनीति गर्यो । सडकमा मदन भण्डारी र जिवराज आश्रितका हत्यारा पत्ता लगाउन टायर बाले, बन्द गरे । आयोगहरु पनि गठन गरिए । तर, दासढुंगालाई हत्याकाण्ड भनेर प्रमाणित गरीएन । मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारीले सेतो सारी लगाउँदै चुनाब लडिन । चुनाब जितेरै भोली पल्ट संसदमा सपथ खाईरहँदा उनले मदनको अनुहार विर्सिइन् । मन्त्री भइन् । त्यसपछि त दासढुंगा हत्याकाण्डलाई सदाका लागि विर्सिइन् ।

अहिले मुलुककै राष्ट्रपति भएकी छिन् तर, श्रीमानको हत्या भएको होकी हैन खोज्ने हिम्मत गरेकी छैनन् । बरु विलाशिता र शान शौकतले राज्यको ढुकुटी उडाइरहेकी छिन् । मदन भण्डारीको रगतले लेखिएको ‘जनताको बहुदलीय जनवाद’को सिद्धान्त विटुलो भइसकेको छ । अपवित्र बनाइएको छ ।

मदन भण्डारीको शवमा राजनीति गरेर एमाले सत्तामा गयो तर, जनताको बहुदलिय जनवादमा प्रणेता, जनताका नायकको मृत्यु कसरी कसले गर्यो खोज्ने दृढता गरेन । २०५० सालपछि जो–जो प्रधानमन्त्री र मन्त्री भए, उनीहरुले वर्षको २ पल्ट जननेता मदन भण्डारीका फोटा र मुर्तिमा पुष्पगुच्छा चढाउनु र भाषणमा ‘मदन भण्डारीको हत्यारा पत्ता लगाएरै छाड्छौं’ भन्नु वाहेक केही गर्न सकेनन् । २७ वर्षसम्म मदन भण्डारीको हत्या भएको हो हैन यकिन गर्न नसक्ने नेपालका कम्युनिस्टले जनताको बहुदलिय जनवाद र मदन भण्डारीको सिद्धान्त अब विक्रि नगरेकै बेस ।

सर्वहाराको बुई चढेर सिंहदरबार !
दासढुंगामा मदन भण्डारीको अवसान भएसँगै नेपालका कम्युनिस्टहरुको नैतिकता बागमतीमा विलिन भयो अब । कम्युनिस्टहरु विलाशिता र सत्तालोलुपतामा रुमलिए । पार्टी र सरकारमा आफन्त, नातावाद कृपावाद लागू गरे । सर्वहाराको बुई चढेर सिंहदरबारको यात्रा गरेकाहरु सिंहदरबार भित्रै हराए । जनता जो रोग भोक र शोकले ब्याकुल थिए उनीहरु कुवाको भ्यागुत्ता कुवामै जस्तो भए । २०५० सालदेखि अहिलेसम्म आइपुग्दा यहि नियती छ जनताको । मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ कुन नेताको कोटको खल्तीमा छ वा कुन पार्टीको रद्दीको टोकरीमा छ ? थाहा छैन ।

शासन परिवर्तन भयो, शासक भएनन
शासन ब्यवस्था परीवर्तन भए तर, शासकहरु बदलिएनन् । पुँजीवादी शामन्ती सोच लिएर राजनीति गर्नेहरुलाई जुनसुकै सिद्धान्त र वाद आएपनि फरक पर्दैन । तिनीहरु छेपाराले रंग फेरे जस्तै गर्छन् । माओवादीले ०५२ सालदेखि ०७२ सालसम्म १० वर्ष शसष्त्र जनयुद्ध गर्दा १७ हजार जनताले बलिदानी दिनुपर्यो । गणतन्त्र, जनताको संविधान र धर्मनिरपेक्षताका नाममा भएका क्रान्तिरुपी नरसंहारले लाखौं नेपालीलाई घरबार विहिन बनाएर नयाँ ब्यवस्था त आयो तर, जनताका लागि आएन । त्यहि सत्ताको वरीपरी बस्ने, सामन्तवादका अवशेषहरुका लागि आयो ।

राजतन्त्रमा फँडा उठाउने कमल थापा, दीपक बोहरा, पशुपति शमसेर, विजय गच्छदार जस्ताहरु नै शक्तिशाली भए । राजतन्त्रको अवशेष फालेपछि जनताको शासन हुन्छ भन्थे संघियताले मुलुकलाई अझै बलियो बनाउँछ, समृद्ध बनाउँछ भन्थे तर, विडम्बना हाम्रो मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता र संघियता अभिषाप बनेर आयो ।

हामीले २०४७ सालको संविधानलाई पनि विश्वकै उत्कृष्ट संविधान भनेको हैन, किन त्यसलाई ५ वर्षमै च्यात्नु पर्यो ? हामीले नागरिक मौलिक अधिकारका रुपमा गाँस, बास, कपास, शिक्षा स्वास्थ्य र रोजगार भनेर संविधानमा ग्यारेन्टी गरेका हैनौं ? किन आज कोरोना भाइरसको महामारीमा जनता औषधी उपचार नपाएर मरिरहेका छन् ?

कागजमा आएको परीवर्तन
नारायणहिटीबाट एउटा राजालाई नागार्जुन पठायौं तर, टोलटोलमा राजा भन्दा शक्तिशाली र निर्दयी छोटे राजाहरु जन्मिए । जातियताका नाममा देश नै विभक्त गर्ने प्रयत्न भए, संघियताका नाममा मुलुक विखण्डन तर्फ डोर्याउने तत्व प्रार्दुभाव भए । समग्र मधेश एक प्रदेश, मधेश छुट्टै राज्य भन्नेहरुले पनि विगतको शासकबाट प्रताडित भएका सर्वहारालाई नै लुट्ने काम गरे ।
झन २०६४ सालयताको राजनीतिक परिवेश डरलाग्दो भ्रष्टाचारमा जकडियो । २ २ वटा संविधानसभा निर्वाचन भए । संविधान बनाउन गएकाहरु सत्तालिप्सामा रुमलिए । आफन्त, भाइभारदार र जदौ भन्नेहरुलाई शक्तिशाली पदहरुमा पठाए मात्र । राज्यको ढुकुटीको सर्वनाश गर्नुवाहेक विगत १० वर्ष यता कुनै उपलब्धी मुलक काम भएनन् ।

भन्न त सत्तामा जानेहरुले १० वर्षमा हामीले अभूतपूर्व राजनीतिक अधिकार प्राप्त गर्यौं, २४० वर्षे राजतन्त्र समाप्त पार्यौं, गणतन्त्र ल्यायौं, धर्मनिरपेक्षता घोषणा गर्यौं भन्ने गर्दछन् । तर, के राजतन्त्र समाप्त पार्दैमा, गणतन्त्र ल्याउँदैमा र धर्मनिरपेक्षता घोषणा गर्दैमा जनताले चाहेको परीवर्तन भयो र ? के जनताको दैनिक जिवनमा कायापलट भयो र ? आफुलाई सर्वहारा वर्गको महिसा भन्नेहरुले बुझ्नु पर्दैन ?

संविधानका हरफमा जनताका अधिकार सुनिश्चित गर्दैमा त्यसले जनजिविकामा परीवर्तन ल्यायो र ?

हामीले २०४७ सालको संविधानलाई पनि विश्वकै उत्कृष्ट संविधान भनेको हैन, किन त्यसलाई ५ वर्षमै च्यात्नु पर्यो ? हामीले नागरिक मौलिक अधिकारका रुपमा गाँस, बास, कपास, शिक्षा स्वास्थ्य र रोजगार भनेर संविधानमा ग्यारेन्टी गरेका हैनौं ? किन आज कोरोना भाइरसको महामारीमा जनता औषधी उपचार नपाएर मरिरहेका छन् ? किन अझैपनि १० लाख बढि बालबालिका स्कुल जानबाट बञ्चित छन्, किन हुम्ला, जुम्ला, कालिकोटमा वर्षेनी झाडापखालाको औषधी नपाएर जनता मरिरहेका छन् ? किन मरुभुमीको ४० डिग्री घाममा बेल्चा हाल्न १७ वर्ष नपुग्दै एउटा किशोर विदेशिनु पर्दछ ? किन एक छाक खान नपाएर नागरिकले मर्नु परिरहेको छ ?

यस्ता अनगिन्ती प्रश्नहरु हाम्रा वरीवरी छ जसले गणतन्त्र, संघियता र धर्मनिरपेक्षताको खिल्ली उडाइरहेका छन् । यस्ता अनगिन्ती समस्याहरु छन् जो राजतन्त्र, पञ्चायती ब्यवस्थामा थिए, बहुदलिय ब्यवस्था पनि रहे र अहिले जनताद्वारा बनाइएको गणतान्त्रिक राज्य ब्यवस्थामा समेत पनि विद्यमान छन् । जवसम्म व्यवस्थाले जनतालाई परीवर्तनको अनुभूत गराउँदैन, जवसम्म जनता समृद्धशाली हुन सक्दैनन जुनसुकै राज्य व्यवस्था र कानुन आएपनि त्यसले ‘लछारपाटो’ लगाउँदैन । हरेक पल्ट पुराना सोच विचार भएका रिटायर्डहरुले नै जनतामाथि शासन गरिरहने हो भने, जनताले भनेजस्तो शासन पद्दति आउँदैन । र परीवर्तन पनि हुँदैन । यो कुरा शासकले मनन गर्न आवश्यक छ ।

अन्त्यमा, बामपन्थी नेता प्रदीप नेपालले भने जस्तै मदन भण्डारीले पहिले ‘जनता’ भन्दथे, अहिले मदन भण्डारीकै बुई चढेर शितल निवास र बालुवाटार पस्नेहरु पहिले ‘म’ भनिरहेका छन् । शासकले ‘म र मेरो’ बाट ‘जनता’ को नभनेसम्म देश विकास हुँदैन । जनता समृद्धशाली र सुखी हुँदैनन् । संसारबाट कम्युनिस्टहरु पतनोन्मुख भइरहेको बेला नेपाली कम्युनिस्टहरुले सर्वहाराकै लागि राजनीति गर्छ भन्थे । तर, यहाँ त कम्युनिस्टका नाममा कमाउनिस्टहरु पैदा भए । यस्ता कमाउनिस्टहरुको अवसान कहिले हुने हो अब ?
श्रद्धासुमन कमरेड मदन भण्डारी ! 

प्रतिकृयाहरु
Loading...