काठमाडौं उपत्यकामा पनि भित्रियो सलह

काठमाडौं । भारतबाट शनिबार नेपालका तराई भू–भागमा देखिएको सलह किरा काठमाडौंसम्म आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् ।

पाल्पा,  मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको अनुमान गरिएको छ । तर, मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको विज्ञहरुले बताएका छन् ।

हावाको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमान विपरित अफ्रिकाबाट भारतसम्म आएका सलहको एक झुण्ड शनिबार बिहान नेपालका बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीसहितका जिल्लामा प्रवेश गरेको थियो । अहिले नै विषादी प्रयोग गर्नु पर्ने गरी सलह नआएकाले धुवाँ लगाउने, टिन तथा ढ्याङ्ग्रो ढोकेर आवाज निकाली भगाउने काम भइरहेको बताइएकाे छ ।

यता कृषि मन्त्रालयमा भएको छलफलमा बाली संरक्षण विज्ञ तथा कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराम शर्माले भारतबाट आएको सलहको बथान सानो भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । विषादी प्रयोग गर्ने र थाल, स्पिकर, टिन बजाउने र धुँवा निकाल्ने लगायत काम गरेर सलह किराको नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सलह किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने उनकाे प्रक्षेपण छ ।  विज्ञका अनुसार नेपालमा बयस्क र बच्चा दुवै खालका सलह देखिएको छ । अण्डा पार्न नसके बयस्क सलह दुई हप्तामै मर्छ भने बच्चा सलह एक महिनासम्म बाँच्छ । यसले नेपालमा तत्कालै संख्या वृद्धि गर्न सक्ने देखिन्न, किनकि यसले बालुवामा मात्रै अण्डा पार्छ, जसका लागि राजस्थान नै जानुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *