प्रधानमन्त्री ओली हटाउनेबारे सोच्नुपनि अपराध हो, पाप लाग्छ: राज्यमन्त्री दुगड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् । उनले भने, ‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा हटाउनेबारे सोच्नु दोष हो, यो अपराध हो । पाप लाग्छ ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राज्यमन्त्री दुगडले वर्तमान प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर गरे । ‘वर्तमान सरकार पारदर्शी छ, केपी ओलीजस्तो एउटा भिजनरी लिडर देशको प्रधानमन्त्री पाउनु देश र हामी नेपाली जनता सबैको लागि सौभाग्यको कुरा हो’, दुगडले भने ।

उनले सरकारको विरोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको टिप्पणी गरे । उनले भने, ‘हेर्नुहोस, आलोचनामात्रै गर्ने काम भएकाहरुसँग त सरकारको बारेमा आलोचना गर्न फेहरिस्त नै हुन्छन् । सरकारले शतप्रतिशत सन्तुष्ट गर्न सक्दैन् । तर, देश र जनताको हितमा हामीले काम गरिरहेका छौं ।’

मन्त्री दुगडले अहिलेको अवस्थामा प्रधानमन्त्री बदल्ने काम गर्न नहुने स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्री बदल्ने काम दुर्भाग्यपूर्ण हुन्छ । प्रधानमन्त्री, राष्ट्रपति वा मन्त्रीहरु बदलेर देश बन्दैन् । प्रधानमन्त्री हट्दैमा देश बन्छ भनेर कसले ग्यारेन्टी लिन्छ ? सम्माननीय प्रधानमन्त्रीज्यूले क्वालिटीको काम गर्नुभएको छ । भ्रष्टाचार निर्मूल पार्छु भन्नुभएको छ । प्रमाणसहित आए उहाँले कारबाही गर्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनुभएको छ ।’

उनले प्रधानमन्त्री ओलीको विकल्प नभएको जिकिर गरे । उनले भने, ‘उहाँको नेतृत्वको वर्तमान सरकारले स्मुथ्ली काम गरिरहेको छ । यस्तो बेलामा सानातिना कुरामा अल्झिनु हुँदैन ।’

वर्तमान प्रधानमन्त्री ओलीमा देश बनाउने संकल्प रहेको र सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिररहेको पनि उनको भनाई छ । ‘नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मतीमा पारित गराउने कुरा हेर्नुहोस, उहाँले पूर्ण बहुमतले पारित गराउनुभयो, सबै दलको यसमा समर्थन रह्यो, यो आफैंमा ऐतिहासिक काम हो, उहाँ कसैसँगपनि डराउनुभएन, उहाँले दृढ संकल्प लिनुभयो,’ उनले भने ।

उनले प्रधानमन्त्री ओलीले देशमा रेल र पानीजहाज ल्याउँछु भन्दा यसलाई मजाक बनाईएकोमा गुनासो पोखे । उनले भने, ‘उहाँले रेल र पानीजहाज ल्याउँछु भन्नुयो, अहिले कामपनि भैराखेको छ । बेसारको महत्वबारे एक ठाउँमा स्पिच दिनुभएको थियो, तर मजाक उडाउने काम भैराखेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *