मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भोलिदेखि खुल्दै सेयर कारोबार

काठमाडौं । कोभिड १९ को महामारीसँगै जारी लकडाउनका कारण ठप्प रहेको सेयर बजार भोलिदेखि खुला गरिने भएको छ ।

नेपाल धितोपत्र समितिको बैठकले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको हो । आवश्यक सुरक्षा अपनाएर असार १५ देखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गरिने बताइएको छ ।

कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार वैशाख २ गते खुलेको थियो । तर दुई दिन कारोबार हुँदा नेगेटिभ सर्किट लागेपछि बजार फेरि बन्द गरिएको थियो ।

बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएससि, मर्चेन्ट बैंकरले यसअघि जारी भएको कोभिड १९ सुरक्षाका उपायहरु पालना गरी कारोबार सुुरु गर्नुपर्ने बताइएको छ ।

त्यस्तै धितोपत्र सम्बद्ध संस्थानहरुले उपयुक्त स्वास्थ्य सुरक्षा विधिहरु नअपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारवाहीको चेतावनी समेत दिइएको छ । सेयर कारोबार अनलाइनबाट गर्न सकिने व्यवस्था गरिएकाले पहिलेजस्तै पूर्ण रुपमा बजार खुला हुने पनि बताइएकाे छ ।

प्रतिकृयाहरु
Loading...