ज्ञवाली भन्छन् – लालपुर्जाका लागि अर्को आयोग बनाउनु पर्दैन

चितवन । भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले वर्तमान गठित आयोगले सुकुम्वासी समस्या समाधान गर्ने दाबी गरेका छन् ।

नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला समिति चितवन र विपन्न समुदाय व्यवस्थापन मञ्च रत्न नगरले आइतबार आयोजना अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ज्ञवालीले सुकुम्वासी समस्या सधैँका लागि अन्त्य हुने बताएका हुन् । वास्तविक सुकुम्वासीलाई लालपुर्जा दिन र अव्यवस्थितहरूलाई व्यवस्थित गर्न अन्तिम पटक आफू नेतृत्वको आयोग गठन भएको उनको जिकिर थियो । ‘सुकुम्वासी र भूमिहीनलाई यही आयोगले लालपुर्जा उपलब्ध गराउँछ’ अध्यक्ष ज्ञवालीले भने – ‘त्यस पछि सुकुम्वासी समस्या सदाका लागि अन्त्य हुन्छ ।’

सुकुम्वासीको पहिचानको जिम्मेवारी स्थानीय सरकारलाई दिने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष ज्ञवालीले स्थानीय सरकारले दिएको विवरण माथि नागरिक सुनुवाइ गर्ने र त्यसपछि मात्र जिल्ला आयोगले अन्तिम निर्णय गर्ने बताए ।

बाढी र जङ्गली जनावरको आक्रमणको जोखिम रहेको बस्तीलाई स्थानान्तरण गरेर पुर्जा दिने उनको भनाई छ । १० वर्ष देखि हैसियत बिग्रेको वनको जग्गा र सोही अवधि देखि बसोबास रहेको बस्तीलाई आधार मानेर आयोगले पुर्जा वितरण गर्ने ज्ञनवलीले बताए ।

उनले पहिलो प्राथमिकतामा भूमिहीन दलित र दोस्रो प्राथमिकतामा भूमिहीन सुकुम्वासी र तेस्रो प्राथमिकतामा अव्यवस्थित बसोबास पर्ने उल्लेख गरे । कार्यक्रममा मेयर नारायण वनले सिरानीमा पुर्जा राखेर निदाउने रत्ननगरका सुकुम्वासी समुदायको सपना वर्तमान आयोगले पुरा गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम बस्ती संरक्षण समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाको अध्यक्षतामा भएको थियो । सोही अवसरमा रत्न नगर नगरपालिकाले लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा तयार पारेको एक हजार ५०४ घरधुरी रहेको तथ्याङ्क अध्यक्ष ज्ञवालीलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *