बुटबलका दुई बालबालिकाले सलह बेचेर कमाए १७० रुपैयाँ
काठमाडौं । बुटबलका दुई बालकालिकाले सलह बेचेर १७० रुपैयाँ कमाएका छन् । शनिबार प्रदेश नं ५ ले एक किलो सलहको २० रुपैयाँ दिइने भने पछि ती दुई बालबालिकाले सलह जम्मा पारेर वडा कार्यालयमा बेचेका हुन् । आइतबार सलह जम्मा पारेर वडा कार्यालयपुगेका उनीहरुलाई वडा कार्यालयले प्रोत्साहन स्वरुप १७० रुपैयाँ दिएर पठाएका छन् ।
लक्ष्मीनगरका अच्युत न्यौपानेले ५ किलो र सविना थारुले साढे ३ किलो सलह जम्मा पारेर लगेका थिए।
बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीका अनुसार उनीहरुले केटाकेटीहरूले टिपेर ल्याएको सलह किनिदिनु भनेर सिफारिस बनाएर उपमहानगरपालिकाको कार्यालयमा पठाएका थिए ।
उपमहानगरपालिकाले वडाको सिफारिसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिएर पठाएको बताएका छन् । उनीहरुले जम्मा पारी ल्याएको सलह कुखुरापालक किसानलाई दिइएको बताइएको छ ।
तर जम्मा भएको सलह सय रुपैयाँ किलोका दरले किन्छौं भन्दै केही व्यक्तिले सम्पर्क समेत गरेको वडाध्यक्ष पराजुलीले बताएका छन् ।