‘मुख्यमन्त्री शेरधन राईलाई एयरफोन र घण्टी दिइयोस्’ केदार कार्की

विराटनगर । प्रदेश १ को संसदमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईलाई देवत्वकरण गर्ने गरी बजेट तयार पारेको भन्दै प्रदेश सरकारको चर्को आलोचना गरेका छन् ।

आईतबार प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेट माथिको छलफलमा बोल्दै कांग्रेस सचेतक कार्कीले मुख्यमन्त्रीले कुल बजेटको आधा बजेट आफु मातहतका मन्त्रालयहरुमा राखेको समेत आरोप लगाए । संसदमा प्रदेश सरकार विरुद्ध कडा रुपमा प्रस्तुत भएका कार्कीले सरकारले प्रतिपक्ष सानो भएको भनेर कुरै नसुनेको समेत तर्क गरे ।

उनले मुख्यमन्त्री लगायत मन्त्रीहरुलाई भत्ता काटेर एयर फोन दिन पनि सभामुखलाई भनेका छन् । संसदमा प्रमुख प्रतिपक्षले विधेयक दर्ता गरेकोप्रसंगमा मुख्यमन्त्रीले थाहै नभएको जस्तो गरेको प्रति कार्कीले भने–‘मुख्यमन्त्रीलाई प्रतिपक्षको भत्ता काटेर एयरफोन दिइयोस, सभामुखले भोलीपल्ट संसोधन गर्ने दिएको समय थाहा पाएरपनि निदाएजस्तो गर्ने मुख्यमन्त्रीलाई घण्टी पनि किनेर दिइयो ।’ उनले भने ।

मुख्यमन्त्रीलाई देवत्वकरण गर्ने बजेट

‘हुन त यो सरकार मुख्यमन्त्रीकै हो, क्याविनेट मुख्यमन्त्रीकै हो । बहुमत मुख्यमन्त्रीकै छ । बहुमत अल्पमत त्यहाँ हुँदैन । मुख्यमन्त्री सर्वेसर्वा हुनुहुन्छ, मुख्यमन्त्रीले जे भन्यो त्यहि पास हुने हो । त्यही भएर होला मुख्यमन्त्रीलाई देवत्वकरण गर्ने गरी बजेट छुट्याइयो ।’ विनियोजित बजेट अधिकांश मुख्यमन्त्रीका मन्त्रालय र क्षेत्रमा परेकोप्रति सचेतक कार्कीले आक्रोश प्रकट गरे ।


कतिपय मजदुरहरु लकडाउनमा भोकले छटपटाइरहेको, मालिककोमा तलब लिन जाँदा तलब नपाएको, सार्वजनिक यातायात व्यवसायीहरुको हालत झनै दयनीय रहेको बेला मुख्यमन्त्रीलाई आफ्नोलागि बंगलो बनाउन बजेट चाहिएको प्रमुख सचेतक कार्कीले संसदमा भने । ‘कतिपय मजदुरहरु आत्महत्याको अवस्थासम्म पुग्ने मानसिक रोगले ग्रस्त हुन थालिसके । यो अवस्थामा मुख्यमन्त्रीलाई क्वाटर हुँदा हुँदै क्वाटर मन परेन । बंगलो चाहियो, बंगलोमा चाहिने सबै प्रकारको सुविधा चाहियो ।’
उनले गरीब जनताको सेवा गर्न बनेको सरकार मितब्ययी बन्न नसकेको आरोप लगाए । ‘गरिब गरिबी र विपन्नताको कुरा गर्न छोडेर हामी सम्पन्नवाद तर्फ गएका छौं । मुख्यमन्त्री कार्यालयमा छुट्याइएको बजेटले त्यहि चित्रण गर्दछ ।’ कार्कीले भने ।

हजारे बजेटमा २४ हजार बढेछ

उनले सभामुख र उपसभामुख अहिलेपनि घरमै बसेर आउने जाने गरेको जनाउँदै तर सरकारले छुट्याएका कतिपय मन्त्रीहरुलाई सरकारी निवास नपचेको समेत आरोप लगाए । ‘कतिपय मन्त्रीहरुलाई सरकारी निवास पचेन, उहाँहरुलाई छुट्टै आवास र डेरा चाहियो ।’ कार्कीले प्रदेश सरकारको कारण मितव्ययीतताको धज्जी उडाएको दावि गरे ।

उनले यसपटक भौतिक विकास पूर्वाधार मन्त्रालयमा एक हजारे बजेट नदेखेपनि २५ हजारे बजेट भने पाएको जिकिर गरे । ‘२४ हजार जति बढेर भौतिकमा आएछ ।’ उनले कूल बजेटको आधा बजेट मुख्यमन्त्री शेरधन राईको मन्त्रालयले राखेको बताउँदै सबैभन्दा विवाद र भ्रष्टाचारमा तानीएको मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको समेत दावि गरे । उनले असारमा टनाटन बजेट तान्दै हाल्दै आफ्ना जिल्ला र सम्पन्नतामा चाकडीमा पैसा हाल्ने मन्त्रालयका रुपमा रुपान्तरित भएको औंल्याए ।

https://www.facebook.com/makalukhabar/videos/334100864276534/

झुपडी बनाउने पैसा धारा जोड्न

प्रदेश सरकारले एक घर एक धारा पुर्याउन मुख्यमन्त्री कार्यालय अन्र्तगत खानेपानी मन्त्रालय रहेपनि खानेपानी उपभोक्ता समुहहरुले एउटा धारा जोड्दा २१ हजार देखि ३५ हजारसम्म धरोटी रकम माग्ने गरेको जनाए । ‘त्यसको न्यूनतम रकम कति हो ? एउटा झुपडीमा बस्ने मान्छेले म आर्सेनीक पानी खान्न धाराको खान्छु भन्छ भने उसको झुपडी बनाउने पैसा त खानेपानीको धारा जोड्नमा लाग्छ ।’ उनले भने ।

सचेतक कार्कीले शुशासन कायम गर्ने सवालमा सरकार लाग्ने कि नलाग्ने ? भन्दै सरकारलाई प्रश्न गरे । साथै सिचाईमा अबको १५ दिन पानी नपरे निःशुल्क विद्युत दिन नसके किसानहरु मर्ने अवस्था आउने बताए । प्रदेश सरकारले बजेटका पानापानामा सिँचाईका लागि बजेट विनियोजन गरेको जनाउँदै त्यहाँ पानी कसरी लैजाने योजना नभएको तर्क गरे । ‘२५ हजार, ५० हजार डेढ लाखको थुप्रै सिंचाईको योजनाहरु देखेको छु, गाउँको वडावडामा सिंचाईको योजना देखेको छु, के कोसीबाट डोलले पानी बोकेर लैजाने ? कि खोलाबाट डोलले पानी खेतमा हाल्ने ? लाने उपाए के हो ?’ उनले प्रश्न गरे ।

कमिसन खान भवन

बजेटले यातायातको बारेमा केही नछोएको कांग्रेस सचेतक कार्कीको धारणा छ । यातायातमा काम गर्ने मजदुरहरुलाई यातायात मन्त्रालयले छुनुपर्नेमा एक दुईवटा भवन बनाउने मात्र बजेट राखिएको बताउँदै उनले भने ‘एक दुई ओटा यातायातका कार्यलय बनाउँदैमा हामी सम्पन्न हुन्छौं ? जनशक्ति ब्यवस्थापन गर्दैनौं भने भवन झुण्डिने ठाउँ बनाइदिने हो ?’ उनले प्रश्न गरे ।
सचेतक कार्कीले जनताका पीरमर्काहरुलाई संवोधन नगर्ने गरी भवन मात्रै बनाउने परिकल्पना गरेर ठेकेदारलाई कर्मचारी र मन्त्रीहरुलाई कमिसन आउने गरी भवनहरु राख्नाले यातायात सम्पन्न नहुने ठोकूवा गरे ।

उनले कोरोनाको संकटमा जनताहरु रहेको बेला प्रदेश सरकारले कोरोना कहर रोकथाममा ध्यान दिनुपर्नेमा कुनाकुनाबाट गोजीबाट नयाँ नयाँ योजनाहरु बर्गेल्ती घुसाएको आरोप लगाए । भने, प्रदेश सरकारले सानै भएपनि प्रतिपक्ष छ भनेर नसोचेको जिकिर गरे । ‘स्यानो प्रतिपक्ष छ, सुन्दैन भनेर झुट्टा आश्वासन बाँड्ने, झुट्टा डाटाहरु बाँड्ने काम बन्द गरीयोस्’ प्रमुख सचेतक कार्कीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *