सलह किराको रेटः एक किलोको २० देखि १ सयसम्म, कुन ठाउँमा कति ?

स्याङ्जा । शनिबारबाट नेपाल भित्रिएको सलह किराको झुण्ड यतिबेला पूर्वदेखि पश्चिमसम्मै फैलिसकेको अवस्थामा विभिन्न जिल्ला र प्रदेशले यसको नियन्त्रणमा विभिन्न उपाय अवलम्बन गरिरहेका छन् ।

कति प्रदेशले विषादी प्रयोग गर्ने, थाल, ड्रम ठटाएर भगाउन सकिने उपायहरु किसानलाई सुझाइरहेका छन् भने कतिपय प्रदेश र जिल्लाहरुले समातेर ल्याए किलोको यति दिने भन्दै त्यसको नियन्त्रणका लागि प्रोत्साहन गरिरहेका छन् ।

प्रदेश ५ ले २० रुपैयाँ प्रतिकिलो सलहको रेट तोक्दा सुदूरपश्चिम प्रदेशले एक किलो जम्मा पारेर ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको थियो भने स्याङ्जाकाे कालीगण्डकी गाउँपालिकाले एक सय प्रतिकिलाे ताेकेकाे छ ।

रुपन्देही, बुटवल, पोखरा, पाल्पा, मकवानपुर, ललितपुर, पोखरा लगायतका विभिन्न जिल्लामा पुगिसकेको सलह अहिले स्याङ्जामा पनि देखिएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेकाे अवस्थामा गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।

अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए । उनले भने, ‘सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।’

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *