भारतीय मिडियामा ओलीको खेदाे, पार्टीभित्रै घेरिएकाेदेखि कुर्सी डगमगाएकाे सम्म !

काठमाडौं । लिपुलेक, कालापानी, लिम्पियाधुुरा समेटर नक्सा जारी गर्ने निर्णय गरेदेखि प्रधानमन्त्री केपी शर्मा ओली भारतीय सञ्चार माध्यमको तारो बनिरहेका छन् ।

भारतबारे राखेका उनका एक–एक धारणा त्यहाँको सञ्चार माध्यमले प्राथमिकताका साथ कभर गरिरहेका छन् । प्रधानमन्त्री ओलीले संसदमा ‘भारतबाट आएको भाइरस चीनको भन्दा कडा रहेछ’ भन्दा पनि भारतका सञ्चार माध्यमहरुले आक्रोश पोखेका थिए ।

हिजो मात्रै प्रम ओली नेतृत्वकाे सरकारले भारतले अतिक्रमण गरेकाे नेपाली भू-भाग समेटेर नयाँ नक्सा पास गरेदेखि भारत र भारतीय राजदूतावासले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको आरोप लगाएका थिए । त्यहाँको सञ्चार माध्यमले प्रधानमन्त्रीको यो अभिव्यक्ति पनि प्राथमिकताका साथ समेटेका छन् ।

एक भारतीय सञ्चार माध्यम जी न्यूजले लेखेको छ– ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कुर्सी जाने डरले सताउन थालेको छ । नेपालमा भारत समर्थक शक्तिका अगाडी बामपन्थी सरकारकाे सूर्य अस्ताउँदो देखिएको छ । पीएम ओलीको भारत विरोधी अडानपछि नेपालका जनता उनीसँग आक्रोशित छन् । अधिकांश नेपाली सांसद पनि ओली सरकारप्रति असन्तुष्टि पोखिरहेका छन् । पीएम ओलीले आफ्नो सरकार अस्थिर गरेको आरोप भारतलाई लगाएका छन् । पीएम ओलीले भनेका छन् कि- नयाँ दिल्लीका कयौँ मिडियामा हुने बौद्धिक बहस, काठमाडौंस्थित भारतीय दूतावासकाे सक्रियताले भारत आफूविरुद्ध लागेको प्रष्ट हुन्छ । म नेपालको पक्षमा बोल्छु त्यसैले केही मानिसहरु विरोध गरिरहेका छन् ।’

त्यस्तै नवभारत टाइम्सले प्रधानमन्त्री ओलीको कुर्सीमा लगातार खतराको बादल मडारिएको बताएको छ । सत्तारुढ नेकपाभित्र मच्चिएको घम्साघम्सी र सरकारविरुद्ध जारी आक्रोशको ध्यान भड्काउनका लागि ओलीले उग्र राष्ट्रवाद प्रयोग गरेको नवभारत टाइम्सको दाबी छ ।

उसले लेखेको छ,–‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र मच्चिएको घम्साघम्सीलाई लिएर भारतमाथि आरोप लगाउँदै आफ्नो सरकारविरुद्ध षडयन्त्र रचिरहेको बताइरहेका छन् । देशमा ओलीको राजीनामाको मागको विषय पनि लामो समयदेखि नै उठिरहेको छ ।’

ओली नेतृत्वको सत्तारुढ नेकपा पतन नजिक पुगेको पनि उसले दाबी गरेको छ । उसले लेखेको छ– ‘नेपालको सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पीएम ओलीको आलोचनापछि राजीनामा मागिरहेका छन् । ओलीले राजीनामा नदिए पार्टी फुटाउने चेतावनी समेत प्रचण्डले दिएका छन् ।’

बीबीसी हिन्दीले पनि प्रम ओलीको हिजोको अभिव्यक्तिलाई प्राथमिकताका साथ समेटेको छ । उसले लेखेको छ,– ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नराम्ररी घेरिएका छन् । पार्टीको स्थायी समिति बैठकमा पनि ओलीको राजीनामा माग पनि गरिएको छ । यसैबिच ओलीले भारतको षडयन्त्रमा आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिएको बताएका छन् ।’

प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित नेकपाका पूर्वमहासचिव दिवंगत मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतले षडयन्त्र रचेको बताएका थिए । उनले भनेका थिए– ‘‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’

आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीबाट हटाए नेपालको पक्षमा बोल्ने कोही नहुने उनले दाबी समेत प्रम ओलीले गरेका थिए । उनले भनेका छन्, ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन । यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न । आजका लागि होइन भोलिका लागि । आफ्ना लागि होइन देशका लागि।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *