चीनले नेपाली भूमि अतिक्रमण गरेको छैनः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भू–भाग अतिक्रमण नगरेको स्पष्ट पारेका छन् । आज (सोमबार) को राष्ट्रियसभामा बोल्ने क्रममा उनले चीन नेपाल सीमा विवाद नभएको स्पष्ट पारेका हुन् ।

‘चीनसँगको सीमा सुल्झ्याएर ९८ वटा सीमा स्तम्भ कायम गरिएको छ । ३७ र ३८ नम्बरको सीमा स्तम्भ भौगोलिक विकटताका कारण बनाउन नसकिएको हो । तर त्यहाँ पनि कुनै विवाद छैन’, उनले भने ।

नेपाल, भारत र चीनको तृदेशीय विन्दु पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । चीनतर्फको १ नम्बर सीमा स्तभ तिन्कर भञ्ज्याङबाट पूर्वमा रहेको र शून्य नम्बरको सीमा वा तृदेशीय विन्दु टुंगो लाग्ने बित्तिकै हुने उनले बताए । भारतसँगको विवादको कारण तृदेशीय विन्दु पहिचान हुन नसकेको उनको भनाइ छ ।

यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सीमा मिच्यो भनेर फर्जी प्रतिवेदन कसले बनायो भन्ने बारे सरकारले अनुसन्धान गरिरहेको पनि जानकारी दिए । हालै पत्रपत्रिकाहरुमा नेपालको भनि दाबी गरिएको रुइ गाउँ चीनकै रहेको उनले बताए ।

उनले भने, ‘सन् १९६१ मा सीमा कायम गर्दा त्यहाँको भूभाग स्थानीयलाई रोज्न दिएरै चीनमा परेको हो। गोर्खा प्रशासन कार्यालयले गरेको अध्ययनले पनि त्यसको पुष्टि गरेको छ।’ दुई देशबीच भएको सहमतिअनुसार नेपाल चीन सीमामा जीपीएस जडान गर्न बाँकी छ । यसबाहेक नेपाल चीन सीमामा अरू कुनै समस्या नभएकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *