कोरोनासँग भाग्ने होइन, लड्ने होः उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनासँग भाग्ने नभइ लड्नुपर्ने बताएका छन् । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी माताको मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा नक्सालस्थित भाटभटेनी परिसरमा २ करोड लागतमा निर्माण गर्न लागेका सत्तलकाे उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।

रक्षामन्त्री पोखरेलले भने, ‘कोरोनासँग भाग्ने होइन लड्ने हो । यो आयो भनेर त्रसित भएर भाग्यौं भने कहाँ जाने ? आज हामी भागौंला भोलि भोकमरीबाट मर्ने अवस्था आयो भने के गर्ने ? हामीले हाम्रो आर्थिक गतिविधि बढाउनैपर्छ । कोरोनासँग लड्नु व्यक्तिव्यक्तिको जिम्मेवारी हो । हामी बचेर देश र समाजलाई बचाउने हो ।’

उक्त भवनको शिलान्यास गर्दै रक्षामन्त्री पोखरेलले व्यवसायी गुरुङको प्रशंसा समेत गरेका थिए । उनले भने, ‘मीनबहादुरजी धनमात्रै होइन मन पनि भएको व्यक्ति हुनुहुन्छ । हामीले मीनबहादुरजीलाई के पाएका छौं भने धन र मन दुवै भएको व्यक्तिका रुपमा । हामीले त्यसरी चिन्छौं । उहाँजस्तै निजी क्षेत्रमा क्रियाशील धेरैजना हुनुहुन्छ । उहाँलाई अनुसरण गर्दै उहाँहरु पनि अघि बढ्नुपर्छ । लगनशील भएर काम गरिरह्यो भने प्रगति गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ ।’

उनले सरकारले व्यवसायीलाई सहजीकरण गरिदिने बताउँदै भने, ‘हाम्रा पुर्खाहरुले निर्माण गरेको चिजहरुलाई नष्ट हुनबाट हामीले नै बचाउनुपर्छ । हाम्रा पुर्खाहरुले धेरै कुरा निर्माण गरे । हाम्रा कारणले नष्ट हुँदैछन् । तर मीनबहादुरजीले त्यसको निर्माण गर्दै हुनुहुन्छ । सत्तलमा विगतमाजस्तो कोही यात्रुहरु आएर नबसे पनि यसले संकेतको काम गर्छ । दृष्टान्तको रुपमा यो सत्तल रहन्छ । हाम्रा पुराना चिजहरुको संरक्षण हामी आफैँले नै निर्माण गर्नुपर्ने हुन्छ ।’

कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले पनि गुरुङले गरेको योगदानको चर्चा गर्दै प्रसंशा गरेका थिए । उक्त वडाका अध्यक्ष रमेश डंगोलले पनि भाटभटेनी मन्दिरमा सत्तल निर्माण गरिनु राम्रो काम भएको बताएका थिए ।

उक्त सत्तल भाटभटेनी ग्रुपका अध्यक्ष मीनबहादुर गुरुङ र भाइ पहल गुरुङले निर्माण गर्न लागेका हुन् । ‘भाटभटेनी मन्दिरकै नामबाट हामीले सुपरमार्केट्स खोल्यौं,’ उनले भने, ‘अहिले देशका विभिन्न स्थामा भाटभटेनी खुलेका छन् । यहाँको मन्दिरमा हामीले पहिलेदेखि नै संरक्षण गर्दै आएका थियौं । अहिले यसको आडैमा नयाँ भवन बनाउन लागिएको हो ।’

सोमबार नयाँ भवन निर्माणका लागि भूमि पुजन गरिएको छ । काठमाडौंमा बाँच्न र भविष्य सुनिश्चित गर्नका लागि आफूले सुरु गरेको व्यवसाय अहिले यहाँसम्म विस्तार भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *