पत्रकारको पेशागत सुरक्षाका लागि महासङ्घले प्रदर्शन गर्ने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका उपलब्ध पदाधिकारी तथा सदस्यको आजको बैठकले यसअघि सञ्चारगृहमा समयसीमासहित बुझाइएको चेतावनीको समेतका आधारमा यही असार १९ गते बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न बृहत् प्रदर्शन गर्ने भएको छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भइरसको सङ्क्रमणले सञ्चार क्षेत्रमा परेको असर र श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका विषयमा गम्भीर समीक्षा गरी बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको निष्कर्ष निकालेको हो ।

महासङ्घले श्रमजीवी पत्रकारको हक अधिकार संरक्षणका लागि सशक्त आन्दोलनमा उत्रने निर्णय यसअघि नै लिइसकेको थियो । साथै समस्या देखिएका सञ्चारगृहमा यही असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसद्, पेशागत सङ्घसङ्गठन, संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे), अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) लगायतका राष्ट्रिय, अन्तरराष्ट्रिय समुदायलाई ऐक्यबद्धताका लागि आग्रह गर्ने निर्णय महासङ्घले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *