एमसीसी विवाद: अमेरिकाको धारणा आयो, अब नेकपा स्थायी कमिटीले ठोस निर्णय गर्ला त ?

काठमाडौं । लामो समयदेखि विवादित बन्दै आएको ‘एमसीसी’ सम्झौताबारे अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै यो सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको हो ।

उसले नेपाललाई एमसीसीका बारेमा निकट भविष्यमा ठोस निर्णय लिन पनि भनेको छ । राजदूतावासको विज्ञप्तिमा भनिएको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन। यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन् ।’

अमेरिकाले एमसीसी सम्झौताको अनुमोदन उक्त परियोजनालाई अहिलेको चरणबाट ‌अघि बढाउनका लागि आवश्यक अघिल्लो कदम भएको उल्लेख गरेको छ । उसले एमसीसी सम्झौताका कार्यक्रम विकास गर्न नेपालका सबै प्रमुख राजनीतिक दलका प्रतिनिधित्व भएका विविध सरकारहरू र एमसीसीले सन् २०१२ देखि लगातार सँगै मिलेर कार्यक्रम पहिचान सहितका क्षेत्रमा काम गरेको जनाएको छ ।

एमसीसी संसदबाट अनुमोदन गर्ने समयसीमा समाप्त हुनु एकदिन अघि अमेरिकी धारणा आएको हो । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्र उक्त सम्झौतालाई अनुमोदन गर्ने या नगर्ने भन्ने विषयलाई लिएर विवाद चुलिएको छ । एमसीसी पनि मुख्य एजेण्डा रहेको नेकपा स्थायी कमिटी बैठक चलिरहेको छ ।

नेकपा स्थायी कमिटीले ठोस निर्णय गर्ला त ?
गत बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्न लागेको हो । बैठकमा सरकारको काम, पार्टी एकताको बाँकी काम, एमसीसीलगायतका एजेण्डा छन् ।

बैठक चलिरहँदा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा चाँडो निष्कर्षमा पुग्न चाहिरहेको बताए । ‘हाम्रो पार्टीको स्थायी कमिटीको बैठकको एउटा एजेण्डा त्योपनि छ । हामीले कार्यदललाई दिएको जिम्मेवारी अनुसार त्यसले आफ्नो प्रतिवेदन बुझाएको छ । त्यो प्रतिवेदनमा आधारित भएर नै हामी हाम्रो छलफललाई एउटा निष्कर्षमा पुर्‍याउँछौँ ।’

उनका अनुसार बैठकमा विभिन्न कोणबाट छलफल भइरहेको छ । एमसीसी अहिलेकै बैठकको एजेण्डा भएकाले यही स्थायी कमिटीको बैठकबाट यसबारे निर्णय हुने उनको दावी छ ।

यसैबीच आजसम्म सम्झौता अनुमोदन हुने सम्भावना टरेपछि यसको कार्यान्वयनमा जाने म्याद थपबारे पुनर्विचार भइरहेको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले जनाएको छ । यो एमसीसी सम्झौता कार्यान्वयनका लागि गठन गरिएको निकाय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *