असमानपूर्वक तलब वृद्धि गरेको भन्दै वीपीका चिकित्सक आन्दोलित

धरान । असमानपूर्वक तलब वृद्धि गरेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा शिक्षकहरु आन्दोलित भएका छन् ।

प्रतिष्ठानको ४३ औं कार्यकारिणी बैठकले आन्तरिक श्रोतबाट तलब खुवाउने गरी २० प्रतिशत तलब बृद्धि गर्ने निर्णय गरेकोमा उपकुलपतिले माथिल्लो दर्जाका चिकित्सक तथा पदाधिकारीहरुलाई १० प्रतिशत मात्रै तलब बृद्धि गरेको प्रति असहमति जनाउँदै उनीहरु आन्दोलित भएका हुन् ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले हिजो मात्रै तलब बृद्धि गरेको जानकारी गराएका थिए । अहिले चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा चिकित्सक शिक्षकहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । आन्दोलनरत शिक्षक कल्याण समाजका नेतृत्व र पदाधिकारीहरुबीच वार्ता पनि भइरहेको छ ।

सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरुको हकमा बेसिक तलबमा १० प्रतिशतका दरले तलब वृद्धि गर्ने निर्णय भएको थियो । उपकुलपति डा. गिरीले श्रेणीबिहिनदेखि सहायकस्तरसम्मका कर्मचारीहरुको बेसिक तलबमान २० प्रतिशत वृद्धि गर्ने निर्णय गरेका थिए । अधिकृतस्तरदेखि डेपुटी रजिष्ट्रारसम्मका कर्मचारीहरुको १५ प्रतिशत तलब वृद्धिको निर्णय गरेका थिए ।

तलब बृद्धिको प्रतिष्ठानका तल्ला कर्मचारीहरुले खुशी ब्यक्त गरेपनि माथिल्लो तहका चिकित्सकहरु भने उपकुलपतिले असमान ब्यवहार गरेको भन्दै असन्तुष्ट भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *