सिंहदरबारभित्रै सुब्बाहरुको प्रदर्शनः ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन ?’

काठमाडौं । सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी विरोध प्रदर्शन भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार पारित गरेको निजामती कर्मचारी विधेयकविरुद्ध नायब सुब्बाहरुले विरोध प्रदर्शन गरेका हुन् । उक्त विधेयक अन्यायपूर्ण भएको उनीहरुको भनाइ छ ।

विरोधमा उत्रिएका नासुहरूले ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन ?’ भन्नेजस्ता प्लेकार्ड बोकेका छन् । देशमा ३५ हजारभन्दा बढीको संख्यामा रहेका नासुको वृत्तिविकासमा बाधा पुग्ने गरी विधेयक ल्याइएको उनीहरूको गुनासो छ । विधेयकका केही व्यवस्था अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप गर्ने खालका रहेकोले बाध्य भएर कर्मचारीहरूले विरोध गर्नुपरेको उनीहरुले बताएका छन् ।

राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । प्रस्तावित ऐनमा नायब सुब्बाबाट शाखा अधिकृतमा बढुवाका लागि २० प्रतिशत मात्र कोटा छुट्टाइएको छ । पदपूर्तिको उक्त प्रावधान अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप तथा आपत्तिजनक रहेको नायब सुब्बाहरुकाे भनाइ छ ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा अड्केर रहेको निजामती सेवा विधेयक आजको बैठकबाट पारित भएको थियो । समिति सभापति शशी श्रेष्ठले अन्तिम चरणमा रहेको विधेयकलाई बहुमतको आधारमा पारित भएको घोषणा गरेकी हुन् । तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भने सहमति जनाएनन् ।

मस्यौदाको प्रतिवेदनमा सहमति हुन बाँकी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको विषयलाई सहमतिबाटै टुङ्गो लगाउने गरी सोमबार बैठक आव्हान गरिएको थियो । तर मन्त्री हृदयेश त्रिपाठी, नेकपाकै केही सांसद, नेपाली कांग्रेस, समाजवादी र राजपाका सांसदका असहमति जनाएका थिए ।

बैठकले प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवा अन्तर्गत हुने प्रस्ताव पास गरेको छ । प्रदेश निजामती सेवा तयार नहुँदासम्म दुवै पदमा सङ्घीय सरकारले नै कर्मचारी पठाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *