नेकपा स्थायी कमिटि बैठक सुरू, ओलीमाथि खनिने सदस्यको तयारी !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज (मंगलबार) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

पहिलो दिन असार १० गतेको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिपछि टुंगिएको थियो । ओली र प्रचण्डले बैठकको उद्घाटनमै एक अर्कालाई आरोप लगाएका थिए ।

त्यसपछिका बैठकहरुमा सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । सदस्यहरुको धारणा तथा प्रश्न सुन्ने समयमा प्रधानमन्त्री ओली प्रायः अनुपस्थित छन् । प्रचण्डले बैठक सम्हालिरहेका छन् । आजको बैठकमा भने दुवै अध्यक्ष उपस्थित भएका छन् । बैठकमा प्रम ओलीले दिएको पछिल्लो अभिव्यक्तिलाई छलफलको एजेन्डा बनाउने तयारी सदस्यहरुले गरेका छन् ।

आइतबार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए । आफूलाई पार्टीभित्रै पनि हटाउने खेल भइरहेको पनि उनले आरोप लगाएका थिए । बैठकमा यसैबारे र सीमा मिचिएका विषयमा छलफल गर्ने तयारी गरिएको हो । प्रधानमन्त्रीको अभिव्यक्ति के आधारमा आएको हो भन्ने बारेमा स्पष्ट पार्नुपर्ने सदस्यहरुको भनाइ छ ।

पछिल्लो समय प्रम ओलीका अभिव्यक्तिहरुको तीव्र आलोचना भइरहेको छ । पार्टीभित्र मात्रै होइन जनस्तरबाट उनले राखेका धारणाहरु विवादस्पद भइरहेका छन् । धेरै पटक पार्टीभित्र ओलीको राजीनामा माग भइरहेको छ । आजको बैठक पनि उनको राजीनामाको विषयमा केन्द्रित हुन सक्ने उनकै पार्टीका नेताहरुले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *