बाबुको मृत्यु, ४ दिनदेखि छोरा फरार, प्रहरीले थाल्याे अनुसन्धान

  • सुजाता लिम्बु

विराटनगर । मोरङको जहदा गाउँपालिका– ५ सन्थाल बस्तीमा एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ । सन्थाल बस्तीका ४० वर्षिय बिरजु टुढुको निधारमा गहिरो चोट लागेर आइतबार मृत्यु भएको हो ।

शनिबार राती खानपिन गरेर सुतेका टुढु आइतबार बिहान निधारमा गहिरो चोट लागेको अर्धचेत अवस्थामा फेला परेका थिए । मृतक टुढुकी श्रीमती शान्ति हेम्मरुनका अनुसार टुढुलाई अर्धचेत अवस्थामा विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हाे ।

गाँउलेका अनुसार मृतकको घरभरी पाहुना थिए । उनको घरमा शनिबार कान्छि छोरी र ज्वाइँसहित पाहुना आएका थिए । साँझको खानपिन सकेर छोरी र ज्वाइँ अर्को घरमा सुत्न गएका थिए भने बिरजु आफ्नै घरको खाटमा सुतेका थिए । श्रीमति र छोरासहित पाहुनाहरु भुइँमा सुतेका थिए ।

मृत्यु शंकास्पद, प्रहरीले थाल्याे अनुसन्धान 

बिरजु टुढुको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् । मृतक टुढु सुतेको खाटमा रगत पनि लतपतिएको देखिएको र उनी सुतेको खाटमा पोतिएको रगत पुछिएको देखिएको उनले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी खड्काले भने,  ‘अघिल्लो दिन राम्रोसँग सुतेका मृतकको टाउकोमा भोलिपल्ट गहिरो चोट देखिएको छ । घटना हेर्दा शकास्पद देखिन्छ,’ एसपी खडकाको अनुसार प्रहरी टोली पठाएर घटनाको अनुन्धान सुरू गरिएको छ ।

सोमबार दिउँसो घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापा, प्रहरी निरिक्षक मिलन थापासहितको सादा पोशकका प्रहरी टोली पुगेर अनुसन्धान सुरू गरेको हाे ।

छोरा फरार

बाबु मृत अवस्थामा फेला परेपछि १८ वर्षिय छोरा सकल टुढु फरार भएका छन् । बिरजु टुढुको दुई छोरी र एक छोरा रहेको स्थानीय गाँउलेले जानकारी दिए । अघिल्लो दिनसम्म घरैमा भएको छोरा भोलिपल्ट सम्पर्क विहीन हुनुले टुढुको मृत्यु शंकास्पद देखिएको अनुसन्धनामा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । फरार भएका टुढुकोको खोजि कार्य प्रहरीले तीव्र बनाएको छ ।

टुढुको निधारमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हुन सक्ने प्रहरी अनुमान छ । टुढुको शव पोष्मार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा ल्याएको एसपी खड्काले जानकारी दिए । मृतककी श्रीमतिले भने श्रीमान् खाटबाट लडेर उपचार गर्न लैजाने क्रममा मृत्यु भएको दाबी गर्दै आएकी छिन् । थप अनुसन्धान र सोधपुछको लागि प्रहरीले शान्तिलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।

जहदा गाउँपालिका ५ सन्थाल बस्तीका स्थानिय र जनप्रतिनीहरूले बिरजु टुढुको रहस्यमय तरिकाले मृत्यु भएकाले घटनाको अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउन सन्थाल बस्तीका स्थानिय र जनप्रतिनिधिले प्रहरी समक्ष आग्रह गरेका छन् । बरजु टुढुको मृत्यु शंकास्पद देखिएकोले प्रशासनले छानविन गरि दोषिलाई कडा कारबाही गर्न जहदा गाँउपालिका ५ का वडाध्यक्ष जगदिश सिंहले माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *