निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि कसले दियो निवेदन ? प्रधानमन्त्रीसँग मागियो जवाफ
काठमाडौँ । निर्वाचन आयोगमा दुई दिनअघि नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको छ । मङ्गलवारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उक्त निवेदन कसले दिएको हो भन्दै सदस्यहरूले जवाफ माग गरेका हुन् । तर प्रधानमन्त्री ओलीले आफूलाई यसबारे कुनै पनि जानकारी नभएको बताए ।
दुई दिन अगाडी झापा निवासी सन्ध्या तिवारीले नेकपा एमाले भन्ने दल दर्ता गरिपाऊँ भनी निवेदन दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सरकारलाई के जानकारी छ ? भन्दै केही सदस्यहरूले जवाफ माग गरेका थिए ।
नेकपा स्थायी कमिटी सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले मेरो पार्टी नेकपा हो, मलाई त्यसबारेमा केही जानकारी छैन भन्नुभयो,”
मङ्गलवारको बैठकमा प्रधानमन्त्रीले सरकार ढलाउन लागेको भनी दिएको अभिव्यक्ति र नेकपा एमाले दल दर्ताका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।