आज पवित्र हरिशयनी एकादशी, यसरी ब्रत बसे मिल्नेछ लाभैलाभ

काठमाडौं । आज पवित्र हरिशयनी एकादशी । आजको दिन हिन्दुधर्मावलम्बीको लागि पवित्र दिन हो । हरिशयनी एकादशी व्रत अर्थात् तुलसीको विरुवा रोपने एकादशीका नामले पनि प्रसिद्ध छ ।

हरिशयनी एकादशीको व्रत बस्नाले हामीले गर्न लागेका कार्यमा वृद्धि, मानसिक समस्याबाट मुक्ति मिल्ने विस्वास गरिएको छ । भने, लक्ष्मीको कृपा सदैब रहिरहने तथा धार्मिक र आत्ध्यात्मिक रुपमा मानिस बलियो हुने शास्त्रमा उल्लेख छ । एकादशीको व्रत सम्बन्धि विभिन्न पुराण तथा उपपुराण हरुमा व्याख्या गरिएको छ ।

विशेषगरी पद्म महापुराणमा हरिशयनी एकादशीको व्याख्या गरिएको छ ।

स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।।

अर्थात् एकादशीको व्रत विधिवत् रुपमा बसेमा स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या तथा उत्तम पुत्र प्राप्तिका साथै सदैब लक्ष्मीको साथ रहिरहने उत्तम व्रत नै एकादशीको व्रत हो भनेर भनिएको छ ।

हरेक वर्ष आषाढ शुक्ल पक्षको एकादशी देखि भगवान् विष्णु चार महिनाका लागि पाताललोकमा गई राजा बलिको ढोकामा निवास गर्ने हिन्दु शास्त्रमा उल्लेख गरिएको छ । आजका दिनदेखि कार्तिक शुक्लपक्षको एकादशीबाट मात्रै फर्किएर पुनः वैकुण्ठमा आउने पुराणहरुमा उल्लेख गरिएको छ ।यसैलाई नै चौमासा अर्थात आषाढ शुक्ल पक्षदेखि कार्तिक शुक्ल पक्षको एकादशी ठुली एकादशी सम्मलाई चौमासा व्रत भनेर भनिएको छ । शास्त्रका अनुसार चौमासा भरि विवाह लगायतका कुनैपनि ठूला शुभकार्य गर्न नहुने शास्त्रमा उल्लेख छ ।

प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षमा एक एक ओटा एकादशी पर्ने गर्दछ । एक महिनामा दुईवटा एकादशी र वर्षभरिमा २४ वटा एकादशी पर्ने गर्दछ । तर अधिक मास अर्थात मलमास परेको वर्षमा दुईवटा एकादशी थपिन गई अधिकमास परेको वर्ष २६ ओटा एकादशी पर्ने गरेको उल्लेख गरिएको छ ।यस वर्ष आश्विन महिनामा मलमास अर्थात अधिक मास परेकाले यसवर्ष २६ ओटा एकादशीको संयोग परेको छ । यस्तो समयलाई विशेष रुपमा लिने गरिएको छ । सनातन हिन्दू धर्मावलम्बीहरुले प्रयोग गर्ने पञ्चाङ्ग गणनामा चान्द्र गणना पद्धतिमा आधारीत रहेर तिथिहरुको गणना गरिएको हुन्छ । एकादशी भगवान विष्णुको प्रिय तिथि हो । आजका दिन घरमा तुलसी रोपेमा समस्त रोगबाट मुक्ति मिल्ने पनि उल्लेख गरिएको छ । जसले घरमा तुलसी रोप्छ उक्त घरमा लक्ष्मीको बाँस सदैब रहिरहने पनि शास्त्रमा उल्लेख गरिएको छ ।

अश्वमेधसहस्राणि राजसूयशतानि च ।
एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।

एकादशीको व्रत बस्नाले हजारौं अश्वमेध यज्ञ गरेको फल बराबर एकादशी व्रत वस्नाले प्राप्त गर्न सकिने शास्त्रमा उल्लेख छ । नयाँ व्रत वस्नेहरुका लागि यो समय अति उपयोगी रहने ज्योतिषी हरुले जानकारी गराएका छन् । अहिले गुप्त नवरात्रको समय चलिरहेको छ भने अस्तको समय पनि नभएकाले व्रत वस्नका लागि अति उपयोगी समय रहेको समेत जानकारी गराएका छन् ।

लेखक रिजाल ज्योतिष तथा वस्तुविद् हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *