प्रधानमन्त्रीको प्रतिवादः ‘तपाईंहरू किचकिच गर्नुहुन्छ भने म बाँचुञ्जेल चुनाव लड्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतप्रति लक्षित गर्दै आफूलाई हटाउने खेल सुरु भएको भनेको केही दिनमै नेपाली राजनीति तरंगित बन्यो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग गरे । मंगलबार अध्यक्ष प्रचण्डसँगै, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलगायतले ओलीको कार्यशैलीको आलोचना गर्दै यही तरिकाले पार्टी अघि बढ्न नसक्ने चेतावनी दिए ।

दुई अध्यक्षबीच त भनाभन नै भएको थियो । अध्यक्ष दाहालले ओलीलाई सबै मोर्चामा असफल भइसकेको भन्दै तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन दबाब दिए । बैठकमा बोल्ने १८ जना नेतामध्ये १७ जनाले प्रधानमन्त्री ओलीको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै राजीनामा मागेका थिए ।

प्रधानमन्त्री ओलीको चर्को प्रतिवाद
आफ्नो राजीनामाको माग उठेपछि प्रधानमन्त्री ओलीले त्यसको चर्को प्रतिवाद गरेका थिए । आफूभन्दा लामो समय पार्टी नेतृत्व ओगटेका नेताले नै त्याग गर्नुपर्ने जिकिर उनले गरे ।

पार्टी अध्यक्ष प्रचण्ड ३२ वर्षदेखि पार्टीको नेतृत्वमा रहेकाले पहिलो त्याग उनले गर्नुपर्ने तर्क प्रधानमन्त्री ओलीको थियो । ‘तपाईं (प्रचण्ड) ३२ वर्षदेखि अध्यक्ष हुनुहुन्छ । त्यागका लागि छाडेर देखाउनुपर्ने तपाईंले नै होला । आफूचाहिँ ३२ वर्षदेखि नेतृत्वमा रहन हुने, म त २०७१ सालमा मात्रै नेतृत्वमा चुनिएर आएको हो, कसकै कृपाले टीका लगाएर दिएको होइन । म किन छाड्ने ?’ प्रधानमन्त्री ओलीले भने ।

उनले नेता नेपाल र खनालको पनि आलोचना गरे । आफूले भन्दा धेरै समय वरिष्ठ नेताहरू खनाल र नेपालले पार्टी चलाएको उनले बताएका थिए । ‘म त नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने भनेर आउने महाधिवेशनबाट पार्टी नेतृत्वमा आउँदिनँ र संसदीय निर्वाचन पनि लड्दिनँ भनेको हो,’ उनले भने- ‘तपाईंहरू किचकिच गर्नुहुन्छ भने म बाँचुञ्जेल चुनाव लड्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *