नेता भीरैभीर, जनता पीरैपीर

बलिउड कलाकार राजेश खन्ना एक लाख प्रतिस्पर्धीबाट छानिए । पाँच दशकअघि उनले बाँचेको त्यो युग देख्नेहरु अहिले मिथक मान्छन् । बलिउडका बादशाह सलमान खानका पिता सलिम खानलाई आफ्नो छोराको स्टारडमप्रति कतिको गर्व लाग्छ ? भनेर सोध्दा उनले भनेछन– ‘छोड्दिनुस म राजेश खन्नाको चकचकी देखेको मानिसका अगाडि सलमानले कमाएको ख्यातीका विषयमा कुनै टिप्पणी गर्न चाहन्न ।’ त्यसो भए राजेश खन्नाले कस्तो स्टारडम पाए ? केही उदाहरण यस्ता छन् ।

संकेत काेइराला

– त्यो समयमा भारतका सैलुनहरुमा ‘राजेश खन्ना कट’ कपाल प्रख्यात थियो । सामान्य कपाल काट्दा पचास पैसा तिर्नुपथ्र्यो भने खन्ना कटको रेट ३ रुपियाँ ५० पैसा थियो ।
– राजेश खन्नालाई ज्वरो आएको समाचार बाहिर आयो भने प्रशंसकहरु उनको फोटो हातमा लिएर पानी छम्कदै पंखा हम्कन्थे ।
– उनी सुटिङमा जाँदा पार्किङमा राखिएको सेतो कार फर्कंदा पुरै रातो भएको हुन्थ्यो । राजेश खन्नाले पाउने माया त्यो भाग्यमानी कारले यसरी पाउँथ्यो कि ठिटीहरुले लगाएको लिपस्टिकको डामले गाडीको रंग परिवर्तन हुन्थ्यो ।
– एकपटक उनी पायल्सले सताइए । उपचारपछि आरामका लागि रिसोर्टमा बसे । राजेश रिसोर्ट पुग्नुअघि नै बाँकी कोठाहरु पुरै बुक भइसकेका थिए । बुक गर्ने अरु कोही नभएर सिनेमाका निर्माता, निर्देशक थिए । जो स्क्रिप्ट र सम्झौता पत्र बोकेर चाकरीमा हाजिर थिए ।
– राजेश खन्नाको सिनेमा हेर्न फिल्म हल जानु र डेटिङमा जानु महिला दर्शकका लागि एउटै मनोभाव थियो । पुरुष प्रशंसक हिरोले कुटाई खाएको दृश्य आएमा हल नै जलाएर या तोडफोड गरेर चरम आशक्तिको परिचय दिन्थे ।
– समकालिन अभिनेत्रीहरुलाई राजेश खन्नासँग सिनेमा खेल्न पाउनु भनेको अनमोल ‘गिफ्ट’ हुन्थ्यो ।

अभिनेता र नेताको आयु उस्तै हो । युग बोकेका यी नायकले केही वर्षअघि गुमनाम मृत्यु अँगाले । जीवनको उत्तराद्र्धमा एक्लो जीवन बाँचे । पत्नी र प्रेमिका त जोडे तर धर्मपत्नी जुरेनन् । उनले बाँचेको जीवन फगत सिनेमाको कहानी बन्यो । त्यो स्टारडममा ग्रहण लाग्नुको मूल कारण थियो– खराव व्यक्तिको संगत । मान्छे शिखरमा पुगेपछि जोगिनुपर्ने खराब संगतबाट हो । जब मानिसको कुर्कुचोले जमिन बिर्सन्छ, त्यसपछि उसको ओरालो यात्रा कसैले रोक्न सक्दैन । कसैको अनुपस्थितिमा राम्रो प्रशंसा हुनु नै उसको जीवनको कमाइ हो । यहुदी भएको अभियोगमा जर्मनीबाट आइन्स्टाइन खेदिएपछि त्यहाँका विद्वानहरुले भनेका थिए– ‘जर्मनी आज युद्धमा हारेको छ ।’

नेता र अभिनेताको नियति उही हो । टाकुरामा उभिएर ठूलो हुने होइन । मुख्य त उसले प्रभाव कस्तो छोड्छ भन्ने विषय प्रधान हुन्छ । वर्तमान विश्व राजनीति लोकतन्त्रका नाममा निरंकुशताको महाअभियानमा अघि बढेको छ । देशभन्दा व्यक्तिको महत्वाकांक्षा अग्रभागमा देखिएको छ । विश्वका सर्वशक्तिमान देश अमेरिका, चीन, रुस, भारत, ब्राजिल मात्र हैन, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तानजस्ता साना मुलुक व्यक्तिको छायाँमा परेका छन् । डोनाल्ड ट्रम्प, सी जिनपिङ, भ्लादिमिर पुटिन र नरेन्द्र मोदी मेनियाको ग्रहणले भविष्य कता लाने हो, ठेगान छैन् । ‘म नै राज्य हुँ’ भन्ने लुइस सो¥हौंका अवतारहरु विश्व राजनीतिमा सलह बनेर उदाएका छन् । अहिले जस्तै विवेक कम, दम्भ बढीको आयतन बढ्दै गयो भने थुप्रै राजनीतिक नेताहरु अभिनेता राजेश खन्नाको गन्तव्यमा पुग्ने निश्चित छ ।

तात्कालिन भारतीय प्रधानमन्त्री मनमोहनसिंह र अमेरिकी पूर्व राष्ट्रपति सिनियर बुसबीच जापानको एउटा कार्यक्रममा भेट भयो । सिनियर बुसले सोधे– ‘अमेरिकी राष्ट्रपति जुनियर बुस तपाईंलाई कस्तो लाग्छ ?’ मनमोहनले छोटो मीठो जवाफ दिए– ‘ठीकै लाग्छन् ।’ बाउ बुसले थपे– ‘यदि उनीमा कुनै कमजोरी पाउनु भयो भने मैले दिएको संस्कार भनी नठान्नुहोला ।’ नेताको व्यवहार त्यो देशको भविष्य हो । हैन भने आफ्नै शक्तिशाली छोरासंग बाउ किन सशंकित हुनुपथ्र्यो र ?

अरु त अरु सार्कका निर्धन राष्ट्र नेपाल, बंगलादेश, पाकिस्तान, भूटान, माल्दिभ्स र श्रीलंकाको राजनीति सबै खालका निकृष्ट गतिविधिबाट निसृत देखिन्छन् । गुट, झूट, लुटको प्रभुत्व चिनीमा गुलियो टाँसिदाझैं अटल सत्य बनेका छन् । शास्त्र भन्छ– ‘क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान, पापले मनुष्यता र अकर्मण्यताले भविष्य सिध्याउँछ ।’ विश्वका सर्वशक्तिमान देश मात्र नभई हाम्रै देशका मुखियाहरुको गतिविधि साँच्चै अशिष्ट, असभ्य लाग्छ ।

कोरोना त एउटा निहुँ मात्र हो, शासकहरुको हठ कोरोनाभन्दा डरलाग्दो हुन्छ । कम्बोडियामा चश्मा लगाएका मानिस बुद्धिजीवी हुन्छन् भनेर छानी छानी मान्छे मारिएको इतिहास छ । जातीय हेलाकै भरमा हिटलरले ६० लाख यहुदीलाई ग्यास चेम्बरमा हाले । ग्यालिलियो ग्यालीली पृथ्वी गोलो छ भनेर अडान नछोड्दा मारिनु पर्यो । अरु त अरु नेपालकै कृषि प्राविधिक कृष्णलाल अधिकारीले मकैमा लाग्ने ‘राता टाउके’ खुम्लेका विषयमा लेखेकै निहुँमा राणाको अविवेकी बन्दुकले मानव चोला गुमाउनुपर्यो ।

सत्ता र शक्तिको उन्माद विचित्रको हुन्छ । अँध्यारो रोपेर उज्यालो खोज्नु उनीहरुको दैनिकी हो । यही कारण पवित्र राजनीतिलाई अपराधको बर्को ओढाएर तातो तावामा उफारेर भुंग्रोमा पार्ने खुरापाती खेल बनाइएको छ । सफल राजनीतिज्ञ कस्तो हुनुपर्छ ? नीति भन्छ– ‘राजरस महजस्तो गुलियो र स्वादिलो हुँदैन । जुन शासकले विषपान गरी अमृत ओकल्छ, त्यही शासकले राज्यको सञ्चालन राम्ररी गर्न सक्छ । राजनीति गर्नेले निद्रामा पनि बिउँझनु पर्छ । अस्वस्थ हुँदा पनि मस्तिष्कलाई चैतन्य बनाउनु पर्छ । गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन र रहस्य लुकाउने क्षमता सुरक्षित राख्न आवश्यक छ ।’

नेपालका नेता पुल्पुलिएका बच्चाजस्तै हुन् । चुुनौती उनीहरुको शब्दकोषमा छैन् । किलोका किलो मालाको अभिनन्दन, चुनाव नामको एकदिने खान्तेपिन्ते फेस्टिबलबाट चुनिएका यिनीहरुका लागि राजनीति योग्यताविनाको अनन्त जागिरे बुटी हो । यही अयोग्यताको प्रदर्शनकै परिणाम देशको अवस्था धान कुट्ने मिलको फित्ताजस्तै सधैं एकै ठाउँ घुमिरहेको छ ।
नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाले आजभन्दा चार दशकअघि गरेको राजनीतिक प्रक्षेपण जस्ताको तस्तै अहिलेको अवस्थासँग मेल खान्छ । अदालतलाई दिएको बयानमा बीपी लोभ, लालच र त्रास नमानी तात्कालिन परिस्थितिको मूल्यांकन यसरी गर्छन्– ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन, कोही चीनवादी होलान्, कोही अरुवादी । म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन रे । भारतवादी खुशी छैनन रे । एउटा चीनवादीले त मसित भने–भारतको विरोधमा बोल्छौ भने हामीहरु सहयोग गर्छौं । भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं । र भारतको समर्थन गर्छौ भने हामीहरु विरोध गर्छौं । अर्थात, उनीहरु म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन । चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन । एउटा राजावादीले त के सम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी उ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं । मानौं, नेपालीहरु अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन ।’ एमसीसी, बीआरआई, सीमा विवाद कहीँ न कहीँ चुच्चे ढुंगो, उही टुंगोमा मिसिन्छन् ।

चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन– ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन । जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन् ।’
राजधानीको पानीले कसलाई कहाँ पुर्यायो थाहा छैन । तर धरहराभन्दा अग्लो घर नबनेपछि त्यही धरहरा निर्विवाद अग्लो हुने रहेछ ।

तीनसय वर्षअघि काठमाडौको मनोविज्ञानलाई अथ्र्याउँदै पृथ्वीनारायण शाहले त्यतिबेलै भनेका थिए– ‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ, षेलषाल मात्रै ठुलो रहेछ, कुपको पानी षान्याछेउ बुधि पनि हुदैन । सुरो पनि हुदैन । षेलखाल मात्र रहेछ । मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयल्लाई मात्रै जाला भन्या यस्तो अविलाष थियो ।’

नेपालको विकास किन भएन ? धेरैका धेरै तर्क होलान । तर मेरो ब्रम्हले भन्छ– देशको चिन्ता गर्दागर्दै आफ्नो कर्तव्य बिर्सिनेहरुको लाभाले देश सुरुङतर्फ प्रवेश गरेको हो । आफूबाहेक सबलाई फटाहामा करार गर्नेहरु जमिनमाथिको एक्लो पाहुना बन्दै गएका छन् । सालको पात बेरेर चिलिम तान्ने बुज्रुकदेखि भट्टी त के तारे होटलमा पेग लगाउनेको गफमा पनि तात्विक अन्तर पाइँदैन । अब त हुँदा हुँदा पढे लेखेका मान्छेलाई नागरिक शिक्षा दिनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । उल्टो यात्राको यो भन्दा सकल प्रमाण अरु के हुनसक्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *