नेकपाको आजको स्थायी समिति बैठकमा पनि मागियो प्रधानमन्त्रीको राजीनामा !

काठमाडौं । सत्तारुढ नेकपाको बुधबारको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । बालुवाटारको आजको बैठकमा पाँच जना सदस्यले बोलेका थिए ।

आज लिलामणी पोखरेल, मातृका यादव, योगेश भट्टराई, नन्द प्रसाईं, पेशल खतिवडाले बैठकमा आ–आफ्नो धारणा राखेका थिए । प्रधानमन्त्रीको कामकारवाहीको आलोचना गरेका अधिकांश सदस्यले राजीनामा मागेका हुन् ।

पछिल्लो समय आफू पार्टीभित्रैबाट घेरिएको र आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन षडयन्त्र रचेको बताएका थिए । त्यसपछि बैठकमा सोही विषयमा बहस भइरहेको छ ।  अधिकांश सदस्यले स्पष्ट पार्न माग गरिरहेका छन् ।

आजको बैठकमा बोल्दै आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् । उनले प्रम ओली पार्टीकाे नीति अनुसार अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने उनकाे भनाइ छ । ‘प्रधानमन्त्रीले कूटनीतिक मर्यादा उल्लंघन गर्नुभयो । पार्टीमा एक पद, एक व्यक्ति भन्ने नीति छ । त्यसैले उहाँले प्रधानमन्त्रीबाट होइन पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ भन्ने मेरो धारणा हो’, उनले भनेका छन् ।

बैठकमा स्थायी समिति सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिनुपर्ने बताएका थिए । पर्यटन मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराईले भने नेतृत्व बीचको विवाद मिलाउनुपर्ने र सच्चिएर जानुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *