नेकपामा प्रधानमन्त्री ओलीको विकल्प कोही हुनै सक्दैनन्, अब हाम्रो पुस्ताले हस्तक्षेप गर्छ : कर्ण थापा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने भन्ने कुरा नै असान्दर्भिक भएको स्पष्ट पारेका छन् ।

उनले भने,‘यो राष्टका निम्ति, पार्टीका निम्ति र नेपाली जनताका निम्ति असान्दर्भिक छ । र, अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक गणतन्त्र, र त्यो लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित गर्ने हाम्रो संवैधानिक व्यवस्था छ । यो कुनैपनि चिजसँग अहिलेको राजीनामा सान्दर्भिक छैन ।’

थापाले आफूहरू विधिको शासनमा रहेको र संविधानको सर्वोच्चता मान्दै आएको सुनाए । २०१५ सालमा बिपी कोइरालाको नेतृत्वमा दुई तिहाइको सरकार बनेको स्मरण गराउँदै उनले नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झन्डै दुई तिहाइ बहुमत दिएको स्पष्ट पारे । उनले जुन दलले ऐतिहासिक बहुमत प्राप्त गर्छ त्यो दललाई अन्य दलभन्दापनि आफ्नै दलभित्रबाट सरकारलाई असहयोग हुने गरेको पनि इतिहास सुनाए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्ने गरी अघि बढ्नुपर्नेमा उनको जोड छ । उनले अहिले एकले अर्कोलाई खुट्टा तान्ने काम गर्न नहुने जिकिर गरे । उनले नेकपाभित्रबाटै केपी ओलीको राजीनामा मागिनु असान्दर्भिक भएको स्पष्ट पारे ।
उनले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेकपा नेतृत्वलाई प्रश्न गरे,‘के राजीनामा भनेको यस्तै खेलबाड हो ? राजनीति भनेको प्रश्न खडा गर्ने मात्रै हो र ? कि समस्या समाधान गर्ने ढङ्गले सोच्ने हो ?’

थापाले ओलीको राजीनामा मागिनुलाई शतप्रतिशत गलतको संज्ञा दिँदै त्यो नेपाली जनमतमाथिको अपमान भएको पनि टिप्पणी गरे । अहिले नेपाली काँग्रेसलाई आफूले दोष नदिने भन्दै बरु उसले देखाएको लोकतान्त्रिक चरित्र र राम्रो र असल प्रतिपक्षी भएकोले उनले धन्यवाद भने ।

उनले वर्तमान सरकारले कुनै त्यस्तो मुद्दा नछोडेको जसले काँग्रेसलाई सडकमा जान बाध्य बनाओस् भनेर पनि उल्लेख गरे । अहिलेको सरकारले जस्तो बलियो र सुमधुर परराष्ट्र सम्बन्ध अरू सरकारले नराखेको पनि उनको दाबी छ । वर्तमान प्रधानमन्त्री यो मामिलामा हलुका नभई गम्भीर भएको उनको भनाई छ ।

पूर्व मन्त्री समेत रहेका नेता थापाले वर्तमान प्रधानमन्त्री ओलीको विकल्प अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल हुनै नसक्ने जिकिर गरे ।

उनले भने,‘पहिलो पुस्ताले जे जति गरे, अब केपी ओलीपछि मैले जे जति नाम अहिले उच्चारण गरेँ, अब यी नामले नेतृत्व गर्न सक्दैनन्, नेकपामा अब ४० देखि ६० वर्षको दोस्रो पुस्ता छ, अब यही पुस्ताले देश चलाउने नेतृत्व र क्षमता राख्छ , अब नेकपामा हाम्रो पुस्ताले हस्तक्षेप गर्छ ।’

उनले वर्तमान प्रधानमन्त्री ओली पार्टीको कुनै मोर्चामा अल्पमतमा नरहेको दाबी गरे । उनले भने,‘उहाँ अल्पमतमा हुनुहुन्छ भनेर हल्ला गरिएको छ । म चुनौती दिन्छु यही स्थायी कमिटी बैठकमा निर्णय गर्नुहोस् न त । किन हल्ला गर्नुहुन्छ ? किन टेलिभिजनमा आएर बोल्नुहुन्छ ? बहुमत भए देखाए भैगयो नि ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *