जनतालाई सरकारको अनुभूति भएन, हटाउने वा राख्ने नेकपाको आन्तरिक कुरा हो : लक्ष्मणलाल कर्ण

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले नेकपाको सरकारलाई आफूहरूले संविधान संशोधन गर्ने शर्तमा सुरुमा समर्थन गरेको तर सहमति पालना नभएकोले समर्थन फिर्ता ल्याएको बताए । बुधवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले यस्तो बताएका हुन् ।

आफूहरूसँग भएका र गरिएका सहमतिहरू आजसम्म पूरा नभएको उनले गुनासो पोखे । नेता कर्णले वर्तमान सरकारको बारेमा जनतालाई अनुभूति नभएको पनि गुनासो गरे ।

उनले वर्तमान सरकार समग्र क्षेत्रमा असफल भएको दाबी गरे । उनले भने, ‘जनतालाई यो सरकारप्रति कुनै अनुभूति छैन । काठमाडौँमा दैनिक सरकारको विरोधमा प्रदर्शन भइरहेका छन् । राज्य सञ्चालनको विषयमा नेतृत्वमा बसेकाहरूले सोच्नुपर्छ कि पर्दैन ।’

नेपाल र भारतबीच सीमा विवाद रहेको उल्लेख गर्दै यसको समाधानको लागि एउटामात्रै विकल्प वार्ता भनेर स्वयम प्रधानमन्त्री ओलीले संसदमा बोलेको कुरा पनि उनले स्मरण गराए ।

उनले भारत र चीन दुवैसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले सुरुदेखि नै सन्तुलित सम्बन्ध बिगारेको आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीले संसदमा चीनबाट आएको भाइरस नरम र भारतबाट आएको भाइरस कडा भनेर भन्नुभयो । चीनबाट कोरोना भाइरस फैलिएको हो। उत्पत्ति भएको देशमा नै कोरोना भाइरस नरम र भारतको भाइरसको कडा भन्नुभयो । चीनबाटै यो भाइरस संसारभरि फैलिएको हो । प्रधानमन्त्रीजस्तो व्यक्तिले जे मनमा लाग्यो, त्यही बोलिदिने ? कि त्यसको वैज्ञानिक कारण हुनुपर्छ ।’
त्यस्तै, प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन थाल्यो भनेर दिएको अभिव्यक्तिप्रति उनले टिप्पणी गरे ।

उनले भने,‘उहाँको अभिव्यक्तिले सम्पूर्ण रूपमा पार्लियामेन्टको बेइज्जत भएको छ । अपमान हो । हाम्रो संविधानले प्रधानमन्त्रीको जन्म पार्लियामेन्टबाट हुन्छ भनेको छ । संसद् निरीह छ भनेर बोल्न पाइन्छ ? संविधानमा त्यस्तो व्यवस्था छ ? हाम्रो संसद् के बेकारको संसद् हो ? यस किसिमको अभिव्यक्तिले के देखाउँछ के भारतसँग वार्ता हुन्छ ? जग्गा फिर्ता लिन वार्ताबाहेक अन्य विकल्प छैन । अन्य विकल्प छ भने देखाउनुपर्छ ।’

उनले आफूहरूलाई कागजको नक्सा भन्दापनि भारतले कब्जा गरेको जमिन जरुरी भएको आवश्यकता औँल्याए ।

कर्णले भने,‘हामीलाई जमिनको आवश्यकता छ । त्यसको लागि के गर्नुभयो त ? नक्सा आएपनि आजसम्म के भयो त ? भारतले वार्ता गर्न चाहेन । अनि किन राजदूत राख्नुभएछ ? फिर्ता गर्नुहोस् । किन परराष्ट्रमन्त्री चाहियो ? परराष्ट्र सम्बन्ध कायम गर्न नसक्ने कस्तो हो हाम्रो परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूत ? घरको मुली मान्छे नै हलुका हुनुभयो । देश हलुको भइहाल्छ ।’

भारतसँग सीमा विवाद समाधान गर्न सरकारले साईलेन्स डिप्लोमेसी अपनाउनु पर्ने पनि उनले सुझाए ।

उनले भने,‘भारतसँग वार्ता गर्नुपर्छ । गम्भीरतापूर्वक वार्ता सुरु गर्नुपर्छ । आज संसारमा हतियार प्रयोग गर्ने होइन । बरु, वार्ताद्वारा समस्या समाधान गर्ने हो । र, नेपालको लागि यो वार्ता नितान्त आवश्यक छ ।’

वैवाहिक अङ्गीकृतको सम्बन्धमा रहेको आजसम्मको व्यवस्थालाई झिनो बहुमतको दम्भमा हटाइएको उनको गुनासो छ ।

उनले भने,‘ संवैधानिक व्यवस्था र कानुनी व्यवस्थालाई कुल्चिएर नागरिकताको प्रावधानमा वैवाहिक अङ्गीकृतलाई किन ७ वर्षको सारियो । भारतमा पनि ७ वर्ष राखिएको छ, त्यही भएर राखेको भन्नेपनि सुनियो । बुहारीको चिन्ता गरियो भनेर भ्रम फैलाइयो । १९५० को सन्धि बदर गरोस् न त । होइन भने यो प्रावधान लागु हुन्छ । सरकारको विरोधमा विरोध र प्रदर्शन भइरहेको छ । अनि प्रधानमन्त्री बसिरहन बस्न मिल्छ । बहुमत राखे बस्नुहुन्छ, नराखे हट्नुहुन्छ । हाम्रो औकात प्रधानमन्त्री बन्ने र बनाउने पनि छैन । सोसल मिडियामा उहाँको विरोध भइरहेको छ । पार्टीभित्र सामर्थ्य भए उहाँलाई हटाउन सक्नुहुन्छ । ५१ कायम भएन भने उहाँ हट्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *