प्रदर्शनमा उत्रिएका इनफ इज इनफका १२ जना पक्राउ, बाबुरामले पनि दिए साथ
काठमाडौं । आज (बुधबार) प्रदर्शनमा उत्रिएका इनफ इज इनफका अभियन्ता १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण आन्दोलनमा सहभागी १२ जनालाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्र प्रवेश गरेको आरोपमा पक्राउ गरिएकोे प्रहरीले जनाएको छ । ललितपुरको पाटनमा ६ दिनदेखि अनशनरत युवाहरुको समर्थनमा बालुवाटारमा प्रदर्शन गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइ नेपाल पुलिस क्लबमा राखेको छ ।
क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने लगायतका माग राख्दै ‘इनफ इज इनफ’ अभियानमा संलग्न अभियन्ता इसान ‘ई’ समेतका चार युवा शुक्रबारदेखि ललितपुरको पाटन कृष्ण मन्दिर नजिकै आमरण अनशनमा बसिरहेका छन् । अनशनमा बसेका चारजनामध्ये दुईजनाको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि अस्पताल लगिएको छ ।
जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्याग्रहमा बसेका युवाहरुलाई भेटेर आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । ‘सत्याग्रह पनि आन्दोलनको एउटा स्वरुप हो । हामी साथमा छौं । सत्याग्रहप्रति ऐक्यबद्धता छ,’ भट्टराईले भने ।