केपी ओली प्रधानमन्त्री बन्न योग्य रहनुभएन : प्रदीप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अब प्रधानमन्त्री बन्न योग्य नभएको बताएका छन् । बुधबार रिपोेटर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै नेता प्रदीपले प्रधानमन्त्रीको शैली र कार्यशैली नै राम्रो नभएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताए ।

नेता पौडेलले नेकपाले प्राप्त गरेको जनमत ऐतिहासिक भएको भन्दै सो जनमतअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले नेकपाले प्राप्त गरेको यो जनमत अरु कसैले प्राप्त नगरेको बताउँदै प्रदेश सरकारको कुरा गर्दापनि ७ वटामध्ये ६ वटामा नेकपाको सरकार रहेको स्पष्ट पारे । जनताले यो भन्दा बढि समर्थन कसैलाई दिन नसक्ने बताए ।

नेता पौडेलले वर्तमान प्रधानमन्त्री ओलीले नक्सा पारित गरेको पर्दाभित्र आफूले गरेका सबै कुकृत्य लुकाउन खोजिएको आरोपसमेत लगाए । उनले वर्तमान सरकारले जनताको जनजीवन उकास्न केहीपनि काम नगरेको टिप्पणी गरे ।

उनले प्रधानमन्त्री ओलीले भारतबाट नेपाल आउने नेपालीहरुलाई नआउ भनेर दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै भने–‘बरु उहाँले के भन्नुपर्दथ्यो भने म तपाईहरुलाई बोलाउँछु । धैर्यतासहित अहिले त्यहीँ बस्नुहोस । म घर पुर्याउँछु भन्नुपर्दथ्यो । प्रधानमन्त्रीले यति भनिदिएको भए कोरोना नियन्त्रणमा सहयोग पुग्दथ्यो । तर, उहाँको अभिव्यक्तिका कारण आज कोरोना नियन्त्रण हुन सकेन् ।’

उनले सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा देशभरिका क्वारेन्टिन भेडाबाख्राको खोरजस्तै भएको पनि टिप्पणीसमेत गरे । लाखौंको संख्यामा युवाहरु विदेशबाट नेपाल आउने उल्लेख गर्दै उनले यस्तो अवस्थामा रोजगारीको लागि कृषि वैकल्पिक क्षेत्र भएकोले सोहीअनुसार सरकारले योजना र कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।

सरकारले प्रकाशित गरेको निर्देशिकाअनुसार लक्षण नभएकालाई अब क्वारेन्टिनमा बसेकाहरुलाई कोरोना नै परीक्षण नगरी घर पठाउने भनिएको पनि उनले आक्रोश पोखे । उनले भने,‘क्वारेन्टिनमा बसेकाहरु फेरि परीक्षण नगरी घर पठाउने कुरा छ, सरकारको उपस्थ्तिि कहाँ देखियो । राहत कसलाई दिने हो ? त्यो पनि छनौट गरेको देखिएन । सामान्य व्यवसायदेखि ठूला उद्योग तथा व्यवसायलाई पनि सहयोग गर्न सकेन् । नेपालजस्तो कडा लकडाउन संसारमा अरु कतै छैन् । कोरोना नियन्त्रण होईन, दिनदिनै बढिरहेको छ।’

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले साउनमा ४० हजारसम्म संक्रमित पुग्ने उल्लेख गरेको सुनाउँदै पौडेलले कोरोना संक्रमण बढिरहेको अवस्थामा एक लाखसम्म देखिने अवस्था पुग्ने आँकलन गरे ।

उनले पार्टी फुटाउनको लागि, प्रतिपक्षी दललाई संवैधानिक परिषदमा नराख्न अध्यादेश ल्याएको बताए ।

नेपालका नयाँ नक्सा पारित गर्दा त्यसको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको कुरामा आफूहरुले प्रशंसा गरेको पनि उनले सुनाए । तर, प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने क्रममा ‘सिंह मयते जयते’ किन भन्नुभयो र भारतलाई किन चिढ्याउनुभयो ? भन्ने पौडेलको प्रश्न छ । भारतबाट कडा कोरोना आयो भनेर प्रधानमन्त्रीले बोलेको पनि उनले आपत्ति जनाए ।

आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले राम्रोसँग नेतृत्व गर्न नसकेको भनेर यसअघि नै निश्कर्ष निकालेको पनि उनले स्मरण गराए ।

पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको कार्यशैली र योग्यताको बारेमा प्रश्न पहिल्यै उठाईसकेको बताए । उनले सरकारको कार्यशेलीका कारण आफूहरु सडकमा जानुपर्ने बताउँदै कांग्रेसले प्रतिपक्षी नै नभएकोजस्तो गरी समर्थन गरेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *