नक्कली भ्याट बिल प्रकरणमा ४० करोड बिगोसहित दुई फर्मविरुद्ध मुद्दा
काठमाडौँ । झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागलेदुई फर्मविरुद्ध ४० करोड बिगोसहित बुधवार मुद्दा दायर गरेको छ। राजधानीको सागर प्लास्टिक कन्सर्न र बिकोइ/स्काइ बंगलामुखी जेभीविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।
काठमाडौँ–२५ को कन्सर्टसँग ३२ करोड ६० लाख बिगो माग गरिएको जेभीसँग आठ करोड एक लाख रुपैयाँ बिगो माग गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
मुद्दामा कन्सर्नका प्रोप्राइटर सञ्जु किजु, सागर किजु र जेभीका रोशनकुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। कन्सर्नले मूल्य अभिवृद्धि कर, आयकरतर्फ सो बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट पत्ता लागेको छ।
मुद्दामा बिगो असुल, दोब्बर जरिवाना र कैदसमेत माग गरिएको छ।
जेभीले दुई करोड ८३ लाख ६४ हजार ४८४ मूल्य अभिवृद्धि कर र चार करोड ५२ लाख ७ हजार ४२८ आयकर र लाभांश कर ६५ लाख ३३ हजार ९१३ चुहावट गरेको अनुसन्धानमा खुलेको छ।
जेभी र श्रेष्ठलाई सो बराबरको रकम असुल गरी बिगोको दोब्बर जरिवाना तथा कैद सजाय माग दाबी लिइएको विभागले जनाएको छ।
यस्तै, विभागले भारत कर्नाटकका अब्दुल मजिद अनेकल र रोशन भनिने लुक्मान्यूल हकिमविरूद्ध ४ करोड २२ लाख ३० हजार ४०७ रुपैयाँ बिगो माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ।
विभागका अनुसार ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा दुवै विरुद्ध मुद्दा दायर छ। उनीहरूलाई बिगोको दोब्बर जरिवाना, कैद माग गरिएको छ। दुबैमाथि विदेशी मुद्दा अपचलनमा अनुसन्धान थालिएको छ।
यस्तै, विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा भारत दार्जिलिङका रविकुमार शर्मा र विहारका पप्पु कुमारविरुद्ध १ करोड ७५ लाख बिगो कायम गरी मुद्दा दायर गरेको छ।