ओली निकटका नेताहरुलाई प्रचण्डले बोलाए खुमलटार

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता तथा स्थायी समिति सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् ।

स्थायी समिति बैठकमा शीर्ष नेताहरुसहितका सदस्यहरले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बेला प्रचण्डले ओली निकट सदस्यहरुलाई छलफलका लागि खुमलटारस्थित आफ्नो निवासमा बोलाएका हुन् ।

अध्यक्ष दाहालसँग छलफलका लागि ओली पक्षका विष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदिप ज्ञवाली पुगेको स्रोतले जनाएको छ । प्रचण्ड–नेपाल गुटका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका नेताहरु पनि छलफलमा सहभागी छन् ।

हिजो बुधबारमात्रै प्रचण्ड तथा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरूले आज बिहीबार बस्ने स्थायी समितिको वैठकमा अपनाउने रणनीतिका बारेमा छलफल गरेका थिए। बैठकमा प्रचण्ड,  उपाध्यक्ष बामदेव गौतम,  वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लगायत भेलामा उपस्थित थिए ।

आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएपछि पछिल्लाे समय प्रधानमन्त्री विवादमा तानिएका छन् । उनकाे अभिव्यक्तिमाथि आपत्ति जनाउँदै पार्टीभित्रैबाट राजीनामा मागिएकाे छ । मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । बुधबार बाेलेका पाँच सदस्यमध्ये केहि सदस्यहरूले पनि उनकाे आलाेचना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *