बिहेको भोलिपल्टै बेहुलाको मृत्यु, बिहेमा सहभागी एक सय बढीमा कोरोना पुष्टि
काठमाडौं । भारतको बिहारमा बिवाहको भोलिपल्टै बेहुलाको मृत्यु भएको छ भने बिवाहमा सहभागी मध्ये १ सय ११ जनाभन्दा बढीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
बिहारको राजधानी पटनास्थित पालीगन्जमा १५ जुनमा विवाह गरेका बेहुलाको भोलिपल्टै मृत्यु भएको थियो । विवाहमा ३ सय ५० भन्दा धेरै जना पाहुना सहभागी भएका थिए । तीमध्ये एक सय बढीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यद्यपी बेहुलाको भने कोरोना भए–नभएको पुष्टि हुन पाएन ।
गुडगाउँमा इन्जिनियरको काम गर्दै आएका यी बेहुला विवाहकै दिन बिरामी थिए र अवस्था निकै खराब थियो । कोभिड–१९ को लक्षण झाडापखालाका कारण पटना अस्पतालमा उनको उपचार पनि भएको थियो । तर, उनको परिवारले उनलाई औषधि खान लगाएर परम्पराअनुसार नै विवाह गर्न बाध्य बनायो ।
जब पटनाका डिस्ट्रिक मेजिस्ट्रेट श्री कुमार रविलाई एक अज्ञात व्यक्तिले फोनमार्फत घटनाको विवरण सुनाए त्यसपछि प्रशासनले यसबारे छानविन थाल्यो । बेहुलाको मृत्युपछि उनको परिवारले अन्तिम संस्कार समेत गरिसकेकाले यी व्यक्तिको परीक्षण भने हुन पाएन । लगत्तै उनका आफन्तहरुमा पनि काेभिड–१९ सँग सम्बन्धित लक्षण देखियो । परीक्षणपछि उनीहरुको स्याम्पल पोजेटिभ आयो ।