विभेदसँग विद्रोह गर्दै ‘धुन सम्राट’ बीबी अनुरागी (भिडियाेसहित)
काठमाडौँ । गीतकार, संगीतकार, एरेन्जर तथा गायक बीबी अनुरागीको नाम नसुन्ने दर्शकहरु कमै होलान् । उनका गीत/संगीत तथा सबै सिर्जनाहरु दर्शकमाझ प्रिय छन् ।
अनुरागीले चलचित्रका गीतमा समेत संगीत भर्ने गर्छन् । उनको परिवार नै नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन् । उनकाे सांगीतिक यात्राका विषयमा मकालु खबर संवाददाता एन्जिला क्षेत्रीले उनीसँग गरेको कुराकानीकाे सम्पादित अंशः
अहिले केमा व्यस्त हुनुहुन्छ ? कोरोनाको प्रभाव कतिको परेकाे छ ?
कोरोनाले गर्दा अहिले विश्व नै संकटमा छ । समग्र गीत-संगीतलाई पनि असर परेको छ । सबैलाई असर परेको बेला मलाई मात्र असर नपर्ने भन्ने त हुँदैन । मलाई पनि असर परेकाे छ । लकडाउन हुनुभन्दा अगाडीदेखिका कति गीतहरु ‘पेन्डीङ’ मा छन् । कति नयाँ कामहरु आईरहेका छन् । अहिले त्यसैको चाप बढेको छ । त्यहि पेन्डीङमा रहेका गीतहरुलाई निरन्तरता दिँदैछु ।
बीबी अनुरागीलाई गीतकार, संगीतकार, एरेन्जर, अथवा गायक के भनेर चिन्ने ?
मुख्यतया म संगीतकार नै हुँ । मलाई जति पनि दर्शक श्राेताहरूले चिन्नुहुन्छ, संगीतकार भनेर नै चिन्नुहुन्छ । मेरो खास विधा भनेको संगीत नै हो । तर, यसको अलवा मैले सकेको गरिरहन्छु । अहिलेसम्म ६ हजारभन्दा बढी गीतहरुमा संगीत संयोजन गरिसकेकाे छु । गीत चाहीँ थाेरै मात्र गाएकाे छु ।
आफ्नो आवाजमा भन्दा बढी संगीतमा विश्वास भएर गीत थाेरै गाउनुभएकाे हाे ?
अरुले कति राम्रो स्वर भन्नुहुन्छ तर, मलाई आफ्नो स्वरप्रति विश्वास कहिलै पनि भएन र अहिले पनि छैन । पछिल्लो समय अलिअलि गीतहरु पनि गाउने गरेको छु । दर्शक श्राेताहरूले मन पराइदिनु भएको छ । त्यसैले गर्दा पनि मलाई गाउनको लागि अलि उत्साह थपिएकाे छ । मैले २०५१ सालमा आफैले गाएर रेकर्ड पनि गरेको छु । रेडियो नेपालमा आधुनिक गीततर्फ भ्वाइस टेस्ट पास पनि गरेकाे थिएँ ।
बाल्यकालदेखि नै गीत/संगीतमा रूची थियाे कि, पछि मात्रै यतातर्फ लाग्नुभएकाे ?
मैले गाउँमा पनि ठूलै लोकप्रियता कमाइसकेको थिएँ । गाउँमा हुने कार्यक्रमहरुमा सहभागी हुन्थेँ । मैले स्टेजमा गीत गाउँदा ४०/५० वटा चिटहरु आउने गर्थे, फेरी गाउनु पर्यो भनेर । त्यो समयमा अहिलेको जस्तो वान्स मोर भन्ने चलन थिएन । एउटा कुरा स्मरण गर्न चाहन्छु, ०५१ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको दिन लोकगीतको सम्मेलन हुन्थ्यो । म १६/१७ वर्षको केटो मैले पनि आवेदन भरेँ । भाग लिन पाउने २० जनाले मात्र थियो । तर, सात/आठ सय जनाले मात्र आवेदन भर्नु भएको थियो ।
भित्र परिक्षण भैरहेको बेला म झ्यालबाट हेरिरहेको थिएँ । म जति अरुको गीत सुन्दै जान्छु त्यति आफूलाई कमजाेर महशुष गर्दै जान्थेँ । मैले सोचेँ कि आफूले दिएको आवेदन फिर्ता लिऊँ । फेरी सोचेँ होइन एक पटक भ्वाइस टेस्ट दिनुपर्यो, के हुने रैछ । अनि अडिसन दिए । अडिसन दिएपछि म तेस्रो भएको रहेछु । त्यो पनि मैले धेरैपछि थाहा पाएँ ।
कसरी याे क्षेत्रमा स्थापित हुनुभयाे ? गीत गाउने याेजना कतिकाे छ ?
२०५५ सालमा रेडियो नेपालमा मैले संगीत भरेको गीत रचना र गायन तर्फ प्रथम भएको थियाे । तर म संगीत सिक्दै गरेको मान्छेले कम्पोज गरेको गीत राष्ट्रब्यापी रुपमा भएको प्रतियोगितामा प्रथम हुदाँ मलाई चर्चाको शिखरमा पुर्यायो । र मलाई राष्ट्रिय संगीतकारको लाइनमा उभ्याइदियाे । आफूले गरेको शब्द सिर्जनाले राम्रो आवाज पाएमा मात्रै त्यो जीवन्त हुन्छ । पछिल्लाे समय भने म आफैँले पनि गायनलाई तीव्रता दिन थालेकाे छु ।
संगीत क्षेत्रमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?
गुमाउएको तुलनामा मैले धेरै नै पाएको छु जस्तो लाग्छ । म त्यति सफल नै भएकाे छु भन्ने चाहीँ मलाई लाग्दैन । किनकि मैले जुन स्तरको काम गर्छु त्यो किसिमको बातावरण सिर्जना गर्न सकेकाे छैन । तर म कहिल्यै पनि गुमाएकोे कुरामा गुनासो गर्दिन, पाएको कुरामा खुशी हुन्छ र छु पनि । कहिलेकाहीँ संगीतको यात्रामा हिँड्दै गर्दा अपमानित भएका तिता अनुभवहरु पनि छन् ।ति कुराहरु सम्झिदा भने दुःख लाग्छ।
अपमानका कुरा गर्नुभयो, तपाईं स्वयंले पनि जातीय विभेद भोग्नु भएको थियो कि ?
म स्वर्गीय आनन्द पाउने देशमा छु । प्राकतिक सौन्दर्यको धनि देशमा छु । र यो सौन्दर्यताको अनुभूति गरिरहेको बेलामा जब यो जातीयताको कुरा आउँछ, लाग्छ म नर्कमा छु । जब मान्छे मान्छेमा नै ठूलो सानो व्यवहार हुन्छ, मन खल्बलिन्छ ।
मैले पहिले मात्र होइन अहिले पनि विभेद सहि रहेको छु । हरेक ठाउँमा विभेद छ । आजका दिनमा पनि गाउँमा गएपछि कतिको घरमा चिया खान पनि मैले तर्सनुपर्छ । मलाई बीबी अनुरागी भनेर गर्दाको सम्मान र बलबहादुर विश्वकर्मा भनेर चिनीसकेपछिको व्यवहार नै फरक हुन्छ । कति मान्छेहरुले त अहिले पनि यो जातीयताको कुरालाई मलजल गरिरहेका छन् ।
जातीय विभेदको अन्त्यका लागि के गर्नुपर्छ जस्ताे लाग्छ ?
पहिले पहिलेका मान्छेहरु शिक्षित थिएनन् । जातीय विभेद गरे अरे । तर, अहिलेका पढेका विद्वानहरुले पनि भेदभाव गर्छन् । जात व्यवस्थाले समाज अहिले पनि थिलथिलो छ । जातको नाममा अपराध भइरहेका छन् । यो हुनु धेरै वर्षसम्म अझै जातीय विभेद रहन्छ भन्ने संकेत हो ।
आफूलाई तल्लो जात अथवा दलित भनेर महशुष गर्नुहोस् त, कति पिडा हुन्छ ? तर मैले सुरुदेखि नै जतीय विभेदको लागि लड्दै आएको छु । कति ठाउँमा कुटाई पनि खाएको छु । त्यस्तै होटलमा चिया खाएर भाडा नधोएको कारण पनि कुटाई खाएको छु । सबै दलित गैरदलितहरुलाई आग्रह गर्न चाहन्छु, यो जातीय कुरा कुप्रथा हो । यसलाई सबैले मनबाट हटाई दिनुहोस् । उच्च र फराकिलो सोच बनाउनुहोस् । आजैदेखि यो विभेदको अन्य गरौं । हामी मान्छे हाैँ, मान्छे बन्न सिकौं ।
तपाईं लोक स्टार सिजन १ काे जज पनि हुनुहुन्छ । सिजन १ ले राम्रो व्यापार गर्न सकेन र विवादित पनि बन्यो । अब सिजन २ आउने सम्भावना कत्तिकाे छ ?
विवादित बन्यो, व्यापार गरेन भन्दा पनि हामीले उक्त कार्यक्रमलाई सकारात्मक नजरले हेर्नुपर्छ । त्यति धेरै विवादित पनि भएको होइन । म त्यहाँको जज हुँ, नाफा भयो कि घाटा भयो मलाई नै थाह छैन भने अरुलाई कसरी थाहा हुन्छ ? गल्ति कमजोरी होलान्, मबाट पनि कति कमी कमजोरी भए होलान् । त्यो सिक्दै जाने कुरा हो । कहाँ गल्ति गर्छ र खोट लगाउँला भनि बस्नेहरुको लागि मात्र हो । त्यसका सकारात्मक पाटोहरु पनि धेरै छन् ।
लोक गीत संगीतलाइ हेर्ने दृष्टिकोण पनि फरक परेको छ । मलाई कसैले पनि चिन्दैन थिए । लोक स्टार जति दर्शकहरुले हेर्नुभयो उहाँहरुले मात्र चिन्नुहुन्छ । ७ हजार गीत एरेन्ज गरेको मान्छेलाई कसैले चिन्दैनन् । एरेन्जरकाे नाम नै आउँदैन । तर मलाई लोक स्टारले अलिअलि भए पनि जनमानसको बीचमा चिनायो, खुशी लाग्छ । अब सिजन २ को पनि तयारी हुँदैछ ।
जीवनमा भोग्नु परेका संघर्षहरुलाई सम्झँदा झट्ट के कुराको याद आउँछ ?
एउटा दलित परिवारमा हुर्किएको म । बाबा आरनमा काम गर्नुहुन्थ्यो । जब काम गर्दागर्दै बाबा बित्नु भयो, तबदेखि हामी बिचल्लीमा पर्यौं । काँधमा जिम्मेवारी आयो । धेरै दुःख, कष्ट, संघर्ष र मेहनत गरि कत्ति पनि समयलाई खेर नफालेर पढाई सँगसँगै काम गरेर आज यो क्षेत्रको, यो स्थानमा छु । खुशी छु ।