नेकपाको स्थायी कमिटि बैठक २ दिनका लागि स्थगित

काठमाडौं । दुई दिनका लागि सत्तारुढ नेकपाको स्थायी कमिटिको बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको भएपनि दुई दिनका लागि बैठक स्थगित भएको हो ।

पर्सि शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको एक स्थायी सदस्यले जानकारी दिए ।

बिहीबार बिहान ११ बजे बसेको बैठक मन्त्रिपरिषद् बैठकका कारण केही घन्टा रोकिएको थियो । ‘शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले छलफल गर्ने, यो संकटलाई समाधान गर्न कोसिस गर्ने भनेर बैठक एक दिनको समय राखेर सकिएको हो,’ एक नेताले भने ।

स्थायी कमिटि सदस्य ती नेताले प्रधानमन्त्रीलाई सदन स्थगित नगर्न भनेको र प्रधानमन्त्रीले पनि हुन्छ भनेको अवस्थामा सदन स्थगित भएको बताए । प्रधानमन्त्री ओलीलाई नेकपा अध्यक्ष दाहालले मुखले एकातिर भनेर काम अर्कोतिर गरेको भनेका थिए । त्यसको जवाफमा ओलीले संसद् स्थगित भएर केही नविग्रिएको बताउँदै ‘गरे के बिग्रियो र । एक/दुई दिन अध्यादेश नल्याउँला नि !,’ भनेको दाहालले बैठकमा ब्रिफिङ गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

सत्तारुढ दलका नेताहरुले २ दिनको आइस ब्रेकमा दुई अध्यक्षविच छलफल हुने तथा मतान्तरहरु कम गर्ने प्रयास हुने अपेक्षा गरेका छन् । स्थायी कमिटि सदस्यहरुले पार्टी भित्र दुई अध्यक्ष र पदाधिकारी विचको जुहारीमा पार्टी फुट्न नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *