सुशान्त आत्महत्या प्रकरणः सञ्जय लीला भन्सालीलाई आयो ‘लिगल नोटिस’

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा चर्चित निर्देशक सञ्जय लीला भन्साली पनि मुछिएका छन् । उनलाई सोही केसमा मुम्बई पुलिसले लिगल नोटिस पठाएको छ।

सुशान्तको आत्महत्यापछि बलिउडमा गुटबन्दी र नेपोटिजमका कुराहरु उठिरहेका छन् । प्रहरीले सुशान्तको आत्महत्या त्यस पाटोतर्फ मोडेर अनुसन्धान केन्द्रित गर्न लागेको हो । अनुसन्धानका क्रममा मुम्बई प्रहरीले धेरै कलाकारसँग सोधपुछ गरिसकेको छ । यसैक्रममा सोधपुछका लागि मुम्बई पुलिसले भन्सालीलाई पत्र पठाएको हो।

सुशान्त आत्महत्या प्रकरणमा फिल्म समीक्षक सुभाष झाले सञ्जयले सुशान्तलाई ३ वटा फिल्ममा प्रस्ताव गरेको खुलासा गरेका थिए। जसमा बाजीराव मस्तानी, गोलियो की रासलीला राम–लिला र पद्मावत थिए।

सुभाषका अनुसार सुशान्तलाई सुरुमा सञ्जयले बाजीराव मस्तानीका लागि अफर गरेका थिए। तर सुशान्तले गर्न नसकेपछि गोलियो की रासलीला राम–लिला र त्यसपछि पद्मावतमा पनि अफर गरेका थिए । पछि तीनवटै फिल्ममा सुशान्तले काम गर्न पाएनन् । प्रहरी सुशान्तले किन काम गरेनन् वा किन काम गर्ने वातावरण भएन भन्ने कुरा पत्ता लगाउन भन्सालीलाई सोधपुछका लागि बोलाएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

सुशान्त आत्महत्या प्रकरणमा सलमान खानसहित ८ जनाविरुद्ध यसअघि नै फौजदारी मुद्दा परिसकेको छ । वकिल सुधिर कुमार ओझाले बिहार अदालतमा अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर, सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार लगायत ८ जनाविरूद्ध फौजदारी मुद्दा दायर गरेका हुन् । जसमा साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन् ।

आमाको याद, बलिउडमा गुमनाम हुने डर, त्यहाँकाे परिवारवाद, नातावादका कारण पिराेलिएका सुशान्त डिप्रेशनमा थिए ।सुशान्तको पोस्टमार्टम रिपोर्ट पनि सार्वजनिक गरिएको छ । मुम्बई प्रहरीलाई प्राप्त फाइनल रिपोर्टमा सुशान्तले फाँसी लगाउँदा निधन भएको पुष्टि भएको छ । सुशान्त ११ दिनअघि बान्द्रास्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले डिप्रेशनका कारण आत्महत्या गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *