अधिवेशन अन्त्यसँगै एमसीसी पास हुने सम्भावना टर्‍यो, म्याद थप्‍न पत्र

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति थप गर्न आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र लेख्दै कार्यान्वयनमा जाने समय थपबारे छलफल गर्न आग्रह गरेको हो । अर्थ सचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेको पत्रमा कोभिड-१९ महामारीका कारण पूर्वतयारी गर्न नसकिएको भन्दै पत्राचार गरिएको स्रोतको दाबी छ ।

‘कोभिड-१९ का कारण केही महिना म्याद थप गर्नका लागि छलफल गर्न प्रस्ताव गरिएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो । एमसीसीलाई पठाएको पत्रमा संसदबाट अनुमोदनको विषय उल्लेख गरिएको छैन । कोभिड-१९ का कारण काम प्रभावित भएकाले कार्यान्वयनमा जाने मिति थप गर्ने विषयमा छलफलका लागि आग्रह मात्रै गरिएको स्रोतको दाबी छ । यसबारे अर्थ मन्त्रालयले औपचारिक प्रतिक्रिया भने दिन चाहेको छैन । परराष्ट्र मन्त्रालयले पत्राचारको काम अर्थ मन्त्रालयको वैदेशिक महाशाखाले गर्न सक्ने र उसैलाई आधिकारिक जानकारी हुने प्रतिक्रिया दिएको छ ।

२०१७ सेप्टेम्बरमा नेपालले एमसीसीसँग करिब ५५ अर्ब अनुदानका लागि सम्झौता गरेपछि त्यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने प्रक्रिया र सर्त अघि बढाएको थियो । तर, एमसीसी कार्यान्वयनमा जाने समय नजिकिँदै गर्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र सम्झौतामा भएको प्रावधानका विषयमा विवाद सुरु भएको थियो ।

सत्तारूढ दलभित्रको किचलोका कारण कार्यान्वयनमा जानुअघि संसदबाट अनुमोदन हुनुपर्ने एमसीसीको सर्त पूरा भएको छैन । सभामुख अग्नि सापकोटाले असार १० गते संसद्को बजेट अधिवेशन १७ गतेसम्मका लागि स्थगित गर्ने घोषणा गरेपछि असार १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन हुने सम्भावना टुंगिएको थियो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले संसद्को बजेट अधिवेशन स्थगित गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारै स्वीकृत गरेपछि हिउँदे अधिवेशन सुरु नहुन्जेल एमसीसी पास हुने सम्भावना पनि टरेको छ । सभामुख सापकोटाले संसद् स्थगित गरेको दिनै एमसीसी अनुमोदन र कार्यान्वयनका विषयमा अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच फोन वार्ता भएको थियो । अर्थमन्त्री युवराज खतिवडाले नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीसहित नेपालका लागि एमसीसीका आवासीय निर्देशक ट्रोय कोफरोथसँग म्याद थपका लागि छलफल गरेका थिए ।

एमसीसीअन्तर्गतका परियोजना कार्यान्वयनमा जानुअघि भारतसँगको अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा सञ्चालन मोडालिटीमा सहमति हुनुपर्ने, प्रसारण लाइन निर्माण स्थलमा पहुँच तथा मुआब्जा वितरण भइसक्नुपर्ने, विद्युत् नियमन आयोग गठन गर्नुपर्ने, परियोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने पूर्वसर्त छ । कार्यान्वयनमा जानुअघि यी पूर्वसर्त पूरा भएको सूचना सरकारले एमसीए नेपाललाई दिनुपर्ने हुन्छ ।

हालसम्म राष्ट्रिय गौरवको आयोजना घोषणा, आयोग गठन, भारतसँगको सहमतिजस्ता परियोजना पूरा भइसकेको छ भने प्रसारण लाइन निर्माणस्थलमा जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम भइरहेको छ । यो सर्तसहित सम्झौताका अन्य प्रावधानलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र भइरहेको विवादका बीच एमसीसीको कार्यान्वयन सुरु हुने म्याद गुज्रिएको हो ।

एमसीसीअन्तर्गतको परियोजना कार्यान्वयनमा जानुअघि तयार पारिएको कार्यतालिकामा यो सम्झौता संसद्बाट गत सेप्टेम्बरमै पास गर्ने तय गरिएको थियो । तर, सत्तारूढ दलभित्रको किचलोका कारण एमसीसी सम्झौता संसद्बाट पास हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित अर्थमन्त्री र परराष्ट्रमन्त्रीसमेत एमसीसी संसदबाट पास गराउन पक्षमा रहेको र उनीहरूको प्रयासप्रति एमसीसीका पदाधिकारीहरू सकारात्मक रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

विवादका विषयमा नेकपाले सचिवालयका सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा भीम रावल र परराष्ट्रमन्त्री ज्ञवालीसहितको कार्यदल माघ २० गते गठन भएको थियो । उक्त कार्यदलले यो अनुदान सम्झौता अमेरिकाको सुरक्षासम्बन्धी हिन्द–प्रशान्त रणनीति ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ कै अंग भएकाले संसद्बाट अनुमोदन गर्न नहुने प्रतिवेदन नेकपा सचिवालयमा बुझाएको छ । तर कार्यदल सदस्य तथा परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिवेदनमा फरक मत राखेका छन् ।

गत सेप्टेम्बरसम्म संसद्बाट सम्झौता अनुमोदन नभएकाले अमेरिकाले एमसीए नेपाललाई दिइरहेको बजेट रोकिसकेको छ । अर्थका अनुसार हालसम्म अमेरिकाका तर्फबाट करिब पौने तीन अर्ब रुपैयाँ खर्च भइसकेको छ । सेप्टेम्बरपछि नेपाल सरकारले नै कार्यालय सञ्चालनको खर्च बेहोरिरहेको छ ।

यो अनुदान नेपालले लिनका लागि सुरुमा मे २०१५ मा ‘इनिसियल इंगेजमेन्ट टेक्निकल एसेसमेन्ट एग्रिमेन्ट’ भएको थियो । जसमा अर्थ मन्त्रालयको वैदेशिक महाशाखाका तत्कालीन प्रमुख मधु मरासिनी र अमेरिकास्थित एमसीसी कम्प्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामराख के खानले हस्ताक्षर गरेका थिए । त्यसपछि २०१६ मा यही शीर्षकको सम्झौता अनुमोदन र केही बुँदा हेरफेर भएको थियो ।

यसमा अर्थ मन्त्रालयका वैदेशिक महाशाखाका तत्कालीन प्रमुख वैकुण्ठ अर्याल र एमसीसी कम्प्याक्ट अपरेसन विभागका उपाध्यक्ष ख्या किमले हस्ताक्षर गरेका थिए । यही सम्झौताको जगमा सेप्टेम्बर २०१७ मा मूल सम्झौता मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) भएको हो । जसमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन जी नासले हस्ताक्षर गरेका थिए ।

पछिल्लो सम्झौता सेप्टेम्बर २०१९ मा ‘प्रोग्राम इम्प्लिमेन्टेसन एग्रिमेन्ट’ (कार्यक्रम कार्यान्वयन सम्झौता) गरेको थियो । त्यसमा नेपालका तर्फबाट अर्थमन्त्री खतिवडा र एमसीसी कम्प्याक्ट अपरेसन विभागका उपाध्यक्ष एन्थोनी वेलचरले सम्झौतामा हस्ताक्षर गरेका थिए । ईकान्तिपुरबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *