फरक बाटोमा प्रधानमन्त्री ओली: स्वेच्छाचारीताले नेकपा फुटतर्फ अग्रसर !

काठमाडौं । सत्तारूढ नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ । स्थायी कमिटी बैठक चलिरहँदा सतहमा आएको नेकपाभित्रको विवादले पार्टी एकतालाई नै गम्भीर संकटमा पार्ने आकलन गर्न थालिएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी कमिटीको बहुमत अग्रसर भएपछि टकरावको स्थिति आएको हो । प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न इच्छुक छैनन् । त्यसपछिका घटनाक्रमले अब नेकपा विभाजन तर्फ नै अग्रसर भएको हो भन्ने टिप्पणीलाई झन् बलियो बनाइदिएको छ ।

राष्ट्रपतिबाट अध्यादेश जारी गराएर प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टी विभाजन गराए भने पनि उनी पदमा रहिरहन सक्छन् वा पार्टी विभाजन गराएर सन्तोष मानेर मात्र बस्नुपर्ला ? अबको महत्वपूर्ण प्रश्न यो हो । आफ्नै निवासमा जारी स्थायी कमिटी बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभन्दा फरक बाटो रोजेको उनको पछिल्लो क्रियाकलापले पुष्टि गरेको छ ।

पछिल्ला घटनाक्रमलाई हेर्दा… 
विवाद पहिलादेखि नै भएपनि पछिल्ला घटनाक्रमलाई हेर्दा असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठकमा सात एजेन्डामा छलफल गर्ने तय भएको थियो । सोहि अनुसार असार १० गतेको बैठक सकियो र बैठक १२ र १३ गते बस्यो । दुई दिनको बैठकमा सीमाको समस्या र नक्सा प्रकरणमा छलफल भएकाले यी बैठकमा सरकारको आलोचना भएन ।

तर असार १० गतेको पहिलो दिनको बैठकमा दुवै अध्यक्षले एक अर्काप्रति आफ्ना असन्तुष्टि भने व्यक्त गरेका थिए । प्रचण्डले पालै पालो प्रधानमन्त्री बन्ने सम्झौताबाट पछि हटेर आफुलाई पछुतो लागेको आशयको अभिव्यक्ति दिए भने प्रधानमन्त्री ओलीले नेतृत्वलाई खुइल्याएर पार्टी र सरकार अगाडी बढ्न नसक्ने गुनासो गरे ।

शनिबारपछि अर्को बैठक मंगलबाट बस्यो । यसबीचमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विवादस्पद अभिव्यक्ति दिए । उनले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा आफ्नो सरकार ढाल्न भारतले सक्रिय बढाएको, काठमाडौँका होटलमा सरकार ढाल्न बैठक भइरहेको बताए ।

तस्विरः प्रधानमन्त्रीकाे निजी सचिवालय ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति पछि असार १६ गते मंगलबार बसेको बैठकमा बोल्दै प्रचण्डले दुई नयाँ एजेन्डा प्रवेश गराए । प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न खोजेको भन्ने अभिव्यक्ति बारे प्रधानमन्त्रीले बैठकलाई स्पष्ट गर्नुपर्ने र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताको निवेदन दिएको विषयमा छलफल हुनुपर्ने गरी दुई नयाँ एजेन्डामा छलफल शुरु भयो ।

बैठकमा प्रचण्डले प्रधानमन्त्रीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दुवैबाट राजीनामा मागे । प्रचण्डसहित बोल्ने सबैले प्रधानमन्त्रीको राजीनामा मागे । बुधबार एक घण्टा मात्र बैठक बस्यो बैठक स्थगित भयो । यसअघि बुधबार बिहान प्रधानमन्त्री ओलीले आफ़ुपक्षका नेताहरुसँग बालुवाटारमा भेला गरेर छलफल गरेका थिए भने बुधबार साँझ प्रचण्डसहित बहुसंख्यक स्थायी समिति सदस्यले झम्सिखेलको एक रेष्टुरेन्टमा भेला गरेर प्रधानमन्त्री ओलीविरुद्ध एक भएको संदेश दिए ।

बुधबार साँझको झम्सिखेल भेलापछि प्रधानमन्त्री ओलीले आफूविरुद्धको सन्देस प्रष्ट पाएपछि नयाँ रणनितितर्फ लागेका थिए । प्रधानमन्त्री ओली निकट नेताहरु सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसहितका नेताहरु प्रचण्ड निवास खुमालटार पुगेर पार्टी एकतामा संकट परेकोले भूमिका खेल्न अनुरोध गरेका थिए ।

दिनभरका बैठक
स्थायी कमिटीभित्रको समिकरणमा प्रधानमन्त्री ओली अल्पमतमा देखिँदा बिहानैबाट विभिन्न समूहका नेताहरूले सहमति कायम गर्न अलग अलग भेटवार्ताहरू गरेका थिए । ओली निकट नेताहरूले अर्का अध्यक्ष प्रचण्डलाई उनको निवासमा गएर भेटेका थिए ।

त्यसपछि स्थायी कमिटीका नेताहरू बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा हुँदा प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेट्न पुगेका थिए । त्यहाँबाट फर्किएर उनले मन्त्रिपरिषद्को बैठक बोलाए जसले संसदको जारी अधिवेशन बिहीबार साँझबाट नै अन्त्य गर्ने निर्णय लियो । कतिपय मन्त्रीहरूसमेत बैठकस्थलमा पुग्न नभ्याउँदै उक्त निर्णय गरिएका विवरण आएका छन् ।

त्यसपछि प्रधानमन्त्रीको अनुपस्थितिमाझ चलाइएको स्थायी कमिटीको बैठक रोकेर प्रचण्ड सहितका नेताहरू ओलीलाई भेट्न गएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस लगत्तै संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको घोषणा गरेकी थिइन् ।

फुटतर्फ अग्रसर !
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेपछि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश केही दिनमा नै आउने अनुमान थप बलियो हुँदै गएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्को बैठक बोलाउने र संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय पार्टीका दुइ अध्यक्षबीच भएको भनिएको समझदारीको विरूद्धमा रहेको छ ।

उनले भने, ‘बिहान भएको समझदारी सरकारको निर्णयले उल्लंघन गरेको कुरा अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताले प्रधानमन्त्रीसँग भेटेर गर्नुभयो । तर प्रधानमन्त्रीले निर्णय भइसकेको र त्यसले केही गर्दैन भन्ने जानकारी गराउनुभयो ।’

उनले थपे, ‘यहि परिस्थितिको बीचमा पार्टी एकता गम्भीर संकटमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासो सहित आजको बैठकले पार्टी एकतालाई हरहालतमा रक्षा गर्न र सुदृद्ध गर्न अनि पार्टी, सरकार र राष्ट्रको आवश्यकतालाई पूरा गर्ने गरि अघि बढ्न आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेका कारण स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।’

प्रधानमन्त्री ओलीमाथि स्वेच्छाचारी रूपमा सरकार सञ्चालन गरेको र पार्टी एकताको भावना अनुसार काम गर्न नसकेको आरोप छ तर, दलभित्रको समीकरणमा प्रधानमन्त्री असहज अवस्थामा पुगिसके पनि उनी दुवै छाड्न तयार छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *