नेकपाको दोस्रो पुस्ताका नेताको छुट्टै भेला, विवाद चर्किने गतिविधि नगर्न खबरदारी

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टीभित्रको विवाद छताछुल्ल पोखिएको छ । सत्तारुढ नेकपाभित्रको अन्तरविरोध र गुटबन्दी जटिल बन्दै गएको देखिन्छ ।

कोभिड १९ ले जनता त्रसित भइरहेका बेला नेकपाका नेताहरु पदीय संकट जोगाउन दौडधुपमा छन् । नेकपाको विवाद र दौडधुपले पार्टी फुटतर्फ अग्रसर देखिएको छ । सबै नेताहरु आ–आफ्नो गुटमा सक्रिय देखिएका छन् ।

यसैबिच नेकपाका दोस्रोपुस्ताका नेताहरुले पनि बेग्लै भेला र छलफल थालेका छन् । शुक्रबार बिहान केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरु पार्टी एकता कसरी जोगाउने भन्ने विषयमा छलफलमा जुटेका हुन् ।

शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो भने प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए । भेलाले शीर्ष नेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेको छ ।

‘पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्षनेताहरुलाई आग्रह गर्ने, असहमतिहरुलाई सहमतिमा बदल्दै एकतालाई सुदृढ पार्ने निर्णय भएको छ । पार्टीभित्रको समस्या पार्टीभित्रै हल गरिनुपर्छ, सडकमा लैजानुहुँदैन’ भेलामा सहभागी एक नेताले भने ।

स्थायी कमिटीको केही दिन यता जारी बैठकमा ‘स्वेच्छाचारी रूपमा सरकार सञ्चालन गरेको र पार्टी एकताको भावना अनुसार काम गर्न नसकेको सहितका आरोप लगाउँदै’ प्रचण्ड सहितका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका छन्।

भारतले हटाउन लागेको अभिव्यक्ति दिए पश्चात त झनै विवाद चुलिएको छ । त्यसमाथि प्रधानमन्त्रीले बिहीबार अध्यक्ष प्रचण्डसँगको सहमति विपरित मन्त्रिपरिषद् बैठक बोलाउनु, संसद अधिवेशन अन्त्य गर्न लगाउनु र स्थायी समिति बैठकमा समेत सहभागी नहुनेले विवादलाई थप बढावा दिएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *