बर्थिङ सेन्टर निर्माण विषयमा धनुषामा झडप, प्रहरीद्वारा हवाई फायर
धनुषा । धनुषामा बर्थिङ सेन्टर निर्माण विषयमा झडप भएको छ ।
धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टर निर्माणको विषयमा दुहबी र गोबराहीको स्थानीयबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर समेत गरेको छ ।
भीड तितरबितर बनाउन प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको जानकारी दिइएको छ । दुई समुहबिच झडप हुँदा २ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
बर्थिङ सेन्टर बनाउने विषयमा २ दिनदेखि विवाद हुँदै आएको र शुक्रबार बिहान दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएपछि वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने माग राख्दै आइरहेका छन् । वडा नम्बर २ का बासिन्दाले भने त्यसको विरोध जनाउँदै आइरहेका छन् । यसै विषयमा विवाद भएकाे हाे ।