पर्यटन क्षेत्रमा कोरोनाले पुर्यायो ३४ अर्बको क्षति, साउन ७ सम्म थप ७ अर्ब बढ्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारीले मुलुक आक्रान्त पारिरहेका बेला पर्यटन क्षेत्रमा मात्रै ३४ अर्ब क्षति भएको विवरण सार्वजनिक भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै लकडाउन सुरु भएको चैत्र ११ गतदेखि हालसम्म ३४ अर्ब क्षति पुगेको जानकारी दिएको हो । पुरानै मोडालिटीमा लम्बिएको लकडाउनले साउन ७ सम्म थप ७ अर्ब क्षति बढ्ने मन्त्रालयको अनुमान छ ।

त्यस्तै लकडाउनका कारण देशभर फसेका पर्यटकमध्ये उद्धारतर्फ हवाई मार्गबाट ९५० जना र सकडमार्गबाट ८७९ जनाको उद्धार गरेको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी मार्च २४ देखि जुन ३० सम्म २१४ उडानमार्फत् १६ हजार ६७२ जना नेपालीलाई विभिन्न देशमा उद्धार गरी स्वदेश ल्याएको दाबी मन्त्रालयको छ । यसैगरी १२ हजार ४०८ जना नेपाली र विदेशीलाई विदेश पठाइएको पर्यटनमन्त्री याेगेश भट्टराईले जानकारी दिए ।

पर्यटन क्षेत्रमा १० खर्बको लगानी छ भने २ लाख ५० हजारले प्रत्यक्ष र सिजनलसमेत गर्दा करिब साढे ८ लाखले रोजगारी पाएका उनले बताए । सबै गतिविधि ठप्प हुँदा रोजगारी गुम्यो भने, व्यवसायीको आय शून्य हुँदा पनि खर्च यथावत रहेको छ तर बैंकको किस्ता भने तिर्नुपर्ने अवस्था छ रहेकाे उनले जानकारी दिए ।

मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति विवरणबारे पनि जानकारी दिएको छ । मन्त्रालका अनुसार राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा पनि निर्माणका कामहरूलाई निरन्तरता दिइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप ३ प्रतिशत भौतिक प्रगति भई जम्मा ९१ प्रतिशत काम भएको मन्त्री भट्टराईले जानकारी दिए । त्यस्तै पोखरा विमानस्थल यस अवधिमा ९ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको छ। विमानस्थलमा २ सय ४४ चिनियाँ नागरिक, ९० नेपाली नागरिक र ११० हेभी उपकरणमार्फत लकडाउनको समयमा काम भइरहेको छ ।

मन्त्री भट्टराईले हवाई उडान तत्काल खोल्ने नखोल्नेबारे पनि छलफल भइरहेको जानकारी दिए । कोरोना संक्रमण दर घटेको अवस्थामा हवाई उडान सुचारु गरेका मुलुकहरुले पनि पछि बन्द गरेको अवस्थाबारे स्पष्ट पार्दै उनले थप अध्ययन र छलफल गरेर यसबारे निर्णय गर्ने बताए । पर्यटन क्षेत्र यस काेराेना महामारीबाट गम्भीर रूपले प्रभावित भएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *