‘आजलाई होइन भोलिलाई, व्यक्तिलाई होइन विधिलाई’ भन्दै पार्टी कार्यालय विराटनगरमा धर्ना
विराटनगर । आजलाई होइन भोलिलाई, व्यक्तिलाई होइन विधिलाई भन्ने प्ले कार्डसहित मोरङका नेकपा निकट विद्यार्थीले धर्ना दिएका छन् ।
विराटनगरस्थित पाञ्चालीमा रहेको पार्टी कार्यालयमा शनिवार अनेरास्ववियू र राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताले धना दिएका हुन् । उनीहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीको पक्षमा प्रदर्शन गर्ने नेकपाका कार्यकर्तालाई कारबाहीको माग समेत राखेका छन् ।
पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि ओली पक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताविरुद्ध शुक्रवार विराटनगरमा प्रदर्शन गरेका थिए । धर्ना दिनुभन्दा अगाडि युवा विद्यार्थीहरूले मोरङका पार्टी अध्यक्ष ऋशिकेष पोख्रेल तथा सचिव गणेश उप्रेतीलाई सो प्रदर्शनमा सहभागिता जनाएका नेकपाका सदस्यहरूलाई कारबाहीको माग गरेका थिए ।
शुक्रवारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल लगायतका नेतालाई गाली गलौज गरिएको भन्दै दाहाल र माधव नेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले शनिवार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगरसमितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाब दिएका छन् ।
पार्टी नेताहरूलाई दबाब दिन अनेरास्ववियूका नेता ओसिम आलम तथा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य ईश्वरी आचार्यको नेतृत्वमा ४ दर्जन बढी युवाहरू पार्टी कार्यालय पुगेका थिए । विद्यार्थी नेता आलम र युवा संघका नेता ईश्वरी आचार्यले पार्टीका शीर्ष नेताहरुविरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रूपमा चित्रित गर्दै सडकमा आउने क्रमलाई नरोक्ने हो भने आफूहरू पनि केपी ओलीको राजीनामा माग्दै सडकमा आउने बताए । उनले सडकमा शीर्ष नेताहरूको बदनाम गर्ने गरी नाराबाजी, जुलुस गर्नेलाई कारबाही हुनुपर्ने बताए ।
सो अवसरमा मोरङका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले पार्टीको सदस्य भएको व्यक्ति स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा तथानाम गाली गलौज गर्नेहरू पार्टी सदस्य हुन नसक्ने बताए । यदि नेकपाको कुनैपनी कमिटीमा रहेको व्यक्तिले त्यसरी स्वतन्त्रताको नाममा आफ्नै पार्टीका कुनै नेतारुलाई गालिगौज तथा कुनै नेताको समर्थनमा प्रदर्शन गरेको भए त्यसलाई कारबाही गरिने उनको भनाई छ । त्यस्तै नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरूको नाम लिष्ट लिएर आए कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।