फुटको राजनीतिले कसलाई फाइदा गर्ला ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी यतिबेला आन्तरिक कलहले फुटको अवस्थामा पुगेको छ । नेतृत्व तहमा भएको असमझदारी, पार्टी र सरकार सञ्चालन विच तादम्यता नमिलेपछि उत्पन्न भएको परिस्थितिले जनमतको पूर्ण अवमुल्यन हुने अवस्था देखिएको छ । जनताले नेकपालाई स्थायी सरकार गठन गर्न भनेर जनादेश दिएका हुन् । आधा समयमै सरकार ढाल्न खोज्नु पनि जनमतको अवमुल्यन गर्नु हो । भने, सरकारले पनि पार्टी र जनताका अपेक्षा अनुरुप योजनाबद्ध रुपमा काम गर्न नसक्नु सरकारको कमजोरी हो । पटकपटक सरकारले गरेका काम र निर्णयहरु आलोचित भइरहँदा त्यसलाई सच्याएर जानुपर्दथ्यो तर, त्यसो भएन ।

जनता कोरोनाको भयमा बाँच्दा जनतालाई कोरोना संक्रमणबाट जोगाउनु राज्यको दायित्व थियो, तर सरकार तथा सरकारका केही मन्त्रीहरुले आशातित काम गर्न नसकेपछि नेतृत्व तहमा चौतर्फी आलोचना बढ्नु स्वभाविक हो । छोराछोरीले अभिभावकसँग गुनासो गर्न नपाउनु वा छोराछोरीको जायज माग र आवश्यक्तालाई अभिभावकले पुर्ति नगर्ने हो भने असन्तुष्टि बढि हाल्छ नी ।

त्यसो त कोरोना संक्रमणले विश्वकै अर्थतन्त्रमा गम्भिर असर गर्दा हाम्रो सरकारले चैं जादुको छडी जस्तो तुरुन्त सबै समस्या हल गर्नुपर्छ भन्ने हैन । सरकारलाई पनि साधन स्रोत ब्यवस्थापन गर्न र जनशक्ति तयार गर्न समय लागि हाल्छ । तथापि, जति गर्नुपर्ने थियो त्यत्ति गर्न नसकेको चैं अवस्य हो । कोरोना संक्रमण आउँदै गर्दा कसैले पनि त्यसको उपचार, रोकथामका उपाय पत्ता लगाएका थिएनन् र अहिलेसम्म लाग्न सकेको छैन । यो कुरा नेतृत्वले आम जनतालाई बुझाउन पनि सकेनन् । र, अवसरलाई सदुपयोग पनि गर्न सकेनन् । कतिपय सरकारका जिम्मेवार तहमा बस्नेहरु कोरोनाका नाममा पार्टी र सरकारलाई बद्नाम गराउन उद्यत पनि भए । कोरोना स्वास्थ्य सामग्री खरिदमा चलखेल भए नभएको छानविनले बताउला तर, देश संकटमा परेको बेला त्यसकै फाइदा उठाउँदै राज्यको ढुकुटीमा लुछाचुँडी गर्नु चैं कदापि सैह्य हुने कुरा होइन । त्यसकारण सतहमा देखिएका विवादहरु अस्वभाविक हैनन् तर, तिनलाई संवोधन नगरी एकापसमा हिलो छेपाछेपको जुन राजनीति भयो त्यो चैं गलत हो ।

पार्टीभित्र र नेतृत्वभित्र देखिएको विवाद र अन्तरद्वन्द्व शुरुकै अवस्थामा हल गर्न सक्नु पर्दथ्यो तर, जहिल्लै विवादहरुलाई थामथुम गर्ने, लुकाउने काम मात्र भयो । सचिबालय, स्थायी समितिले आशातित सरकारलाई सहयोग गर्न सकेन । सरकारले पनि पार्टी र कार्यकर्ताको मनोभावना अनुसार काम गर्न सकेन । फलस्वरुप पार्टीका कार्यकर्ता र जिम्मेवार नेतृत्व आलोचित बन्नु परेको हो ।

सरकार ट्रयाक भन्दा बाहिर गइरहेको छभने पार्टीले बेलैमा निर्देशन दिने, सल्लाह दिने रणनीति बनाउनु पर्ने भएपनि यहाँ त कतिपय कुरामा सरकारलाई नै असफल बनाउने काममा नेतृत्व लागि परे । फलस्वरुप पार्टी नेतृत्व र सरकारको नेतृत्व गर्नेविच दुरी बढ्दै गयो । नेतृत्व भित्र सल्किएको असमझदारीलाई न्यूनिकरण गर्ने, उनीहरुलाई आउट अफ ट्रयाक हुनबाट बचाउन सरकारका सल्लाहकार, विगतमा पटक–पकट सरकारको नेतृत्व गरेका, पार्टीको नेतृत्व गरेर अनुभव हासिल गरेकाहरुले सानो प्रयास पनि गरेनन् । बरु उल्दै दुई नेतृत्वविच फाटो ल्याउने, असमझदारी बढाइदिने र आगोमा घिउ थप्ने काम मात्र भयो ।

अब, आगो त सल्किइसक्यो, त्यसलाई कसरी निभाउने ? त्यसतर्फ सोच्नु पर्दछ । हामी नविर्सउँ, जनताले नेकपाबाट धेरै आशा राखेका छन्, इतिहासमै पहिलो पटक झण्डैझण्डै दुई तिहाईको सरकार बनेको छ । रपनि हामीले जनताको जिवनस्तर उकास्ने, जनजिविकाका सन्दर्भमा आशातित काम गर्न सकेका छैनौं । कमजोरी हाम्रै हो । कमजोरी सरकारको पनि हो र पार्टी नेतृत्वको पनि हो । अब कमजोरी केलाएर आगोमा घिउ हाल्ने कि, आगो निभाउने ? नेतृत्वले ठण्डा दिमाग लगाएर सोच्ने बेला आएको छ ।

अहिलेको विषम परिस्थितिमा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्नु नेकपालाई घातक हुन्छ । यही सरकारलाई निरन्तरता दिँदै जन अपेक्षा अनुरुप काम गर्ने हो भने अझै केही विग्रिएको छैन । नेतृत्व सच्चिएर जानु पर्यो, अढाई वर्षमा धेरै काम गर्न सकिन्छ । राष्ट्रियताको सवालमा मिलेर जानुको विकल्प छैन ।

यति चै नेतृत्वले प्रष्ट हुनै पर्दछ की, पार्टी फुटेमा, फुटाइएमा इतिहासले नेकपालाई कहिल्लै माफि दिनेछैन । पार्टी फुटेपनि नफुटे पनि त्यसको जस अपजस बर्तमान नेतृत्वले लिनै पर्दछ । कामना नगरौं, कदाचित पार्टी फुटि हाले कुनैपनि पक्ष त्यसको दोषबाट पन्छिन पाउँदैन । इतिहासले त्यो नेतृत्वलाई धिक्कार्नेछ जसले यस्तो विषम परिस्थितिमा पार्टीलाई फुटाउने कुटील चाल खेल्दैछ ।

यतिबेला राष्ट्र संकटमा छ, राष्ट्रियता धरमरमा छ, यो बेला पार्टी र नेतृत्वले आफुभित्र रहेका मतान्तरलाई विर्सिदिउँ, गल्ती मान्छेबाटै हुन्छ । गल्तीलाई सुधारेर अगाडी बढ्नुको महानता अरुमा छैन । त्यागको राजनीति गरौं, फुटको हैन ।

राष्ट्रियता, राष्ट्रिय एकता बलियो बनाउन हामीसँग जुट्नुको विकल्प छैन । हामीले बुझ्न पर्दछ कि नेकपा फुटोस र समाप्त होस भन्ने तत्वहरु पार्टीमा पनि छन्, देशभित्र पनि छन् र कतिपय विदेशी शक्ति पनि सक्रिय छन् । ‘फुटाउ र शासन गर’ भन्ने सिद्धान्त बोकेकाहरुले कहिल्लै राष्ट्रहित सोच्दैनन् । उनीहरुको उद्देश्य त लडाएर हुन्छ कि फुटाएर हुन्छ सत्ता र शक्ति कब्जा गर्ने मात्र हुन्छ । ‘फुटाउ र शासन गर’ हरुमा कुनै राष्ट्रियता हुँदैन, कुनै देश हुँदैन । नेकपाभित्र पनि, सरकार भित्रपनि यस्तै सिद्धान्त बोकेकाहरुको प्रवेश भएको छ । जसलाई अब फाल्ने बेला आएको छ । फुटको राजनीतिले कसैलाई फाइदा गर्दैन भन्ने हामीले इतिहासबाट किन नसिक्ने ? इतिहासमा कम्युनिस्टहरु पटकपटक फुटेको हैन, इतिहासमा कांग्रेसीहरु फुटेका हैनन् ? खै त्यो टुटफुटको राजनीतिले कसलाई फाइदा पुग्यो त ?

यथास्थितिमा रमाउने, मुलुकलाई प्रगतिको पथमा लैजान नचाहने, जनतालाई सदैव दास सम्झने प्रवृत्तिका विरुद्ध एकाकार होउँ । मुलुकलाई उदार समाजवाद तर्फ उन्मुख गराउनका लागि आदरणीय नेतृत्व, फुटेर हैन जुटेर शासन गरौ, जनमतको कदर गरौं ।

नेतृ चौधरी पूर्वराज्यमन्त्री तथा नेकपाकी केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *