नेकपा विभाजन भए गणतन्त्र खतरामा पर्छ : रायमाझी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्विकार्य नहुने स्पष्ट पारेका छन् । पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाई छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेकपा अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डा भन्दा पनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको स्पष्ट पारे । उनले भने,‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ । यही विषयले उचाई लिईरहेको छ । अहिलेको बहस एजेण्डामा भन्दा पनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ ।’

नेता रायमाझीले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको भन्दै नेकपा नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिए ।

उनले दुई तिहाईको सरकारले जनतामा सरकारप्रति अपेक्षा बढ्नु स्वभाविक रहेको भन्दै जनताका चाहना बमोजिम राम्रो काम गर्न सक्ने अवसर पनि भएको बताए ।

उनले भने, तर जनताका अपेक्षा पूरा गर्ने गरि काम गरेनौं । विगतका सरकारभन्दा केही राम्रा काम त पक्कै पनि भएका छन् । तर, दुई तिहाईको सरकार हो यो, त्यो स्तरमा अझै काम भैरहेका छैनैन् ।’ उनले अहिले पार्टी एकताका अधुरो कामपनि ओझेलमा परेको गुनासो व्यक्त गरे ।

‘सरकारलाई परीणाममुखी बनाउनको लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान त हुने होईन् । यो बेलामा सरकार परिवर्तन गर्नु उपयुक्त होईन्’

मुलुक कोरोना महामारीविरुद्ध लडिरहेको, सिमा विवादमा सिंगो राष्ट्र एकजुट भएर लागिरहेको सुनाउँदै उनले यो बेला बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणीसमेत गरे ।

उनले भने,‘सरकारलाई परीणाममुखी बनाउनको लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान त हुने होईन् । यो बेलामा सरकार परिवर्तन गर्नु उपयुक्त होईन् ।’

रायमाझीले अहिले सरकार परिवर्तन गर्नु वा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरित हुने पनि टिप्पणी गरे । उनले अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश अस्थिरतातर्फ जाने खतरा रहेको दाबी गरे ।

आवश्यक पर्यो भने सहमतिका आधारमा पदको बाँडफाँड भने गर्न सकिने विषय भएको उनको भनाई छ । पार्टी एकताभन्दा बाहिर नजानको लागि देशभरिका नेता तथा कार्यकर्ताहरुले नेतृत्वलाई खबरदारी गरिरहेको उनले बताए ।

अहिले देखिएका विवाद समाधानको लागि नेताहरुले पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्ने उनको सुझाव छ । विधि, प्रक्रियासम्वद्ध छलफल हुनुपर्ने उनको भनाइ छ ।

नेकपा विभाजन भए गणतन्त्र नै खतरामा पर्ने उनको टिप्पणी छ । उनले नेताहरुलाई सहमतिको लागि अन्तिमसम्म प्रयत्न गर्नपनि आग्रह गरे । आफूहरु दोस्रो पुस्ताका नेताहरु पनि पार्टी एकतालाई जोगाउनको लागि नेतृत्वलाई दबाब सिर्जना गर्ने काममा लागिरहेको उनको भनाइ छ ।

पहिलो पुस्ताका नेताहरुले सहमति कायम गर्नुको विकल्प नै नभएको उनको भनाई छ । र, दोस्रो पुस्ताका नेताहरुले पहिलो पींढिका नेताहरुलाई उक्साउने काम गर्न नहुने उनको सुझाव छ । उनले भने,‘हामीले विवाद चर्काउने गरि आफ्नो भूमिका निर्वाह गर्नुहुँदैन् । बरु, विवाद मत्थर पार्ने गरी आफूलाई सक्रिय बनाउनुपर्छ ।’

रायमाझीले पार्टीका शीर्ष नेताहरुले अहिलेको विवाद मिलाउन नसके उनीहरुको नेतृत्व र खुबीमाथि प्रश्नचिन्ह उठ्ने पनि टिप्पणी गरे । उनले भने,‘पार्टी नेतृत्वले विवाद हल गर्न सक्नुभएन भने उहाँहरुको क्षमतामाथि पनि प्रश्न उठ्छ । यदि पार्टीलाई विभाजनतर्फ लैजानु भयो भने उहाँहरुको क्षमतामा त प्रश्न उठ्छ नै । उहाँहरुलाई विवाद मिलाउने अधिकार छ । तर, पार्टी विभाजन गर्ने राईट्स छैन् ।’

पार्टी विभाजन गर्नेहरुलाई नेता मान्न पनि जरुरी नरहेको उनको भनाई छ । उनले कसैको उक्साहटमा, निर्देशन वा बहकावमा लागेर पार्टी विभाजन गर्ने कदम चाले स्वयम ती नेताहरुको लागि दुर्भाग्यपूर्ण हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *