१४ जिल्लाका अध्यक्ष एवं सचिबहरुद्वारा पार्टी विभाजन रोक्न माग
विराटनगर । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर एकका १४ जिल्लाका अध्यक्ष एवं सचिवहरुले पार्टीलाई विभाजन हुनबाट रोक्न माग राखेका छन् ।
नेकपाका १४ जिल्लाका अध्यक्ष एवं सचिवहरुले आईतबार विराटनगरमा आयोजित सामुहिक पत्रकार सम्मेलनमा आपसी विभाजनले पार्टीलाई क्षति पुग्ने हुनाले एकताको कामलाई पूर्णता दिनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।
करीव दुई तिहाईको जनमतसहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भिरतापूर्वक मनन् गर्नुपर्नेमा जोड दिँदै टुटफुट र विभाजन रोक्न पहल गर्न सिङ्गो नेतृत्व र पार्टी पंक्तिमा आग्रह गरिएको छ ।
पत्रकार सम्मेलनमा उनीहरुले पार्टी नेतृत्वलाई पार्टी एकताको मर्म र भावना अनुरुप कदम चाल्न आग्रह गरेका छन् । नेकपा मोरङ्ग अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयंगम् गरि पार्टी एकतामा जोड दिएका छन् । उनले पार्टी एकतालाई कमजोर पार्ने कुनैपनि गतिविधिमा सङ्लग्न नहुन पार्टी सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।
नेकपाका १४ जिल्लाका तर्फबाट पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाईने अध्यक्ष पोखरेलले जानकारी दिए ।