नेकपा टकरावः संकट समाधानको सूत्र पहिल्याउने प्रयास जारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन आज पनि नेताहरु छलफलमा जुट्दैछन् । पार्टी स्थायी कमिटी बैठकअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

ओली र प्रचण्डबीच आइतबार भएको कुराकानी कुनै ठोस निष्कर्षमा त पुगेन, तर संकट समाधानको सूत्र पहिल्याउन भने उनीहरू सहमत भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले दुवै पद छाड्नुपर्ने अडान राखिरहेका अर्का अध्यक्ष दाहालले केही लचिलो बनेर अब प्रधानमन्त्रीबाट मात्र हट्दा हुने संकेत दिएका छन् । विवाद मत्थर गर्दै सहमतिमा जाने संकेतका रूपमा दाहालले अब दुई पदमध्ये प्रधानमन्त्री पद छाड्नुपर्ने धारणा राखेका हुन् । तर ओलीको अडान सरकारको नेतृत्व छाड्दै नछाड्ने भन्नेमा छ ।

दाहाल सरकार आलोपालो चलाउने २०७५ जेठ २ को सहमतिमा फर्किनुपर्ने पक्षमा छन् । ओलीले भने कार्यकारी अध्यक्षमा दाहालको थप भूमिकाबारे व्याख्या गर्ने र आफूले पाँचै वर्ष सरकार चलाउने विषयलाई संवादको बटमलाइन मानेका छन् । त्यसो त शनिबार पनि यी दुई अध्यक्षबीच भेटघाटको कार्यक्रम तय भएको थियो । तर, यो भेटघाट हुन सकेन ।

आइतबार भएको वार्तालाई निर्णायक तहसम्म पुर्‍याउनका लागि प्रधानमन्त्री ओली निकटका महासचिव बिष्णु पौडेल र शंकर पोखरेल र अध्यक्ष दाहालका तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए । पार्टीभित्र देखिएको समस्या समाधानको लागि दुवै पक्षका यिनै नेताहरुमार्फत सहमति जुटाउने प्रयास भइरहेको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको वार्ता आजै बस्ने स्थायी कमिटी बैठकअघि तय भएकाले सहमति जुटाउन नेताहरूले निकै प्रयास गरिरहेका छन् ‌। स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच हुन लागेको यो भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *