मध्यपश्चिमाञ्चल विद्याविद्यालयको रजिस्ट्रार र डीनमा कस्ताले प्रतिष्पर्धा गर्न पाउँछन् ?

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रजिस्ट्रार र डीनका लागि खुल्ला प्रतिष्पर्धाका आधारमा दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन भन्दै खुला विज्ञापन गरेको हो । विश्वविद्यालयले पहिलोपटक प्रतिष्पर्धाका आधारमा पदाधिकारी नियुक्ति गर्ने बाटो अपनाएको हो ।

सोमबार प्रकाशित सूचनाअनुसार रजिस्ट्रारका लागि ७ दिन र डीनका लागि १० दिनको दरखास्त दर्ता गर्ने म्याद दिइएको छ । रजिस्ट्रारको हकमा शैक्षिक प्रशासनमा विशिष्टतासहित भिजन पेपर पेस गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

यता डीनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित संकायका प्राध्यापक वा सम्बन्धित संकायमा सेवा गरेका सहप्राध्यापक वा मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित संकायका प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने छ । डीनका लागि पनि आवेदनसँगै भिजन पेपर पेस गर्नुपर्ने भनिएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन–२०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । सोही ऐनको दफा २६ मा डीनहरुको नियुक्ति कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने भनिएको छ । कार्यकारी परिषद्को अध्यक्ष उपकुलपति हुने प्रावधान रहेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन र योग्य पदाधिकारी नियुक्त गर्न खुला दरखास्त आह्वान गरिएको जानकारी दिए ।

यसभन्दा अघिका उपकुलपतिसँगको विवादको कारण एमयूका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल ‘निलम्बन’ मा परेपछि यामबहादुर कार्की निमित्त रजिस्ट्रारको रुपमा कार्यरत छन् । मल्लको कार्यकाल असार २८ गतेसम्म रहेको छ ।

दरखास्त आह्वान गरिएकामध्ये विज्ञान तथा प्रविधि संकाय, व्यवस्थापन संकाय र मानविकी तथा सामाजिकशास्त्र संकायका डीनको पद रिक्त छ । निमित्त रजिस्ट्रारसमेत रहेका शिक्षाशास्त्र संकायका डीन कार्कीको पदावधि पनिअसार २५ गते सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *