नेपालको समग्र हितको कार्यमा केन्द्रित हुने : नवनियुक्त महावाणिज्यदूत

 

काठमाडौँ । कोलकाता स्थित नवनियुक्त महावाणिज्यदूत र चेम्बरका अध्यक्ष तथा पदाधिकारीबिच भेटवार्ता भएको छ । हालै नेपाल सरकारबाट नियुक्त भएका कोलकाता स्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत ईश्वर राज पौडेल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठबिच भेटवार्ता भएको हो ।

नेपाल चेम्बर अफ कमर्स स्थित कार्यालयमा भएको भेटमा चेम्बरका अध्यक्ष श्रेष्ठले नवनियुक्त महावाणिज्यदूतलाई कार्यकालको शुभकामना दिएका छन् ।

भेटमा बोल्दै महावाणिज्यदूत पौडेलले नेपालको समग्र हितमा आफ्नो कार्य केन्द्रित हुने बताएका छन् ।

साथै उनले नेपाल चेम्बर लगायत फ्रेट फर्वाडर्स एसोसिएसन, चेम्बरका कोलकाता स्थित समकक्षी संस्था इन्डियन चेम्बर अफ कमर्स,कोलकत्ता, द बेंगाल चेम्बर अफ चेम्बर कमर्स एण्ड इन्डस्ट्री कोलकत्ता, इन्डियन फेड रेशन अफ वेस्ट बेंगाल ट्रेड एसोसिएसन, २३ एनएस रोड फेयर्ली प्लेस बीबीडी बाग कोलकता वेस्ट बेंगाल तथा उच्च स्तरीय निकायसँगको समेत सहकार्यमा व्यापार सहजीकरण गर्न आफू दृढ समर्पित रही कार्य गर्ने बताए ।

यस्तै नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले सिपिङ लाइनले कन्टेनरमा लिने डिटेन्सन शुल्कमा एकरूपता नभएको हुँदा सो हटाउने तर्फ पहल गर्नु पर्ने अनुरोध गर्दै नेपालको लागि यथेष्ट रेल्वे मुभमेन्ट कार्गोको व्यवस्था हुनु पर्ने बताए ।

अध्यक्ष श्रेष्ठले पारवहन लागत घटाउन पनि प्रयास जारी राख्न पहल हुनु पर्ने तथा कोलकाता कस्टम हाउससँग सुमधुर सम्बन्ध राखी नेपाली कार्गोलाई सहजीकरण गर्ने, कोलकाता पोर्ट ट्रस्टसँग समन्वय गरी पोर्टमा लाग्ने अनावश्यक झमेला एवं डिमरेज मिनाहा गरी व्यवसाय गर्न सहज गर्ने तर्फ आवश्यक पहल गरी दिन विशेष अनुरोध गरेका छन् ।

साथै सीआइएफ वीरगन्ज हुने गरी एलसी कारोबार गर्दा पारवहन लागत कम हुने भएकोले सिपिङ लाइनको सहयोगी भूमिका महत्त्वपूर्ण हुने हुँदा त्यस तर्फ पहल गरी दिन र कन्टेनर डिटेन्सन शुल्क लाई कम गर्न आवश्यक पहल गर्न समेत अनुरोध गर्नु गरेका छन् ।

यस्तै अध्यक्ष श्रेष्ठले पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड लगायत चेम्बरसँग समझदारी पत्रमा हस्ताक्षर भएका करिब चार वटा चेम्बरसँग समन्वय गरी व्यापार, लगानी र कोभिडको महामारी पश्चात् मेला, प्रदर्शनीको सहभागितामा जोड दिनु पर्ने बताए । भेटमा चेम्बरका वरिष्ठ उपाध्यक्ष, राजेन्द्र मल्ल,उपाध्यक्ष, कमलेश कुमार अग्रवाल लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *