पार्टी एकता कमजोर बनाउने गतिविधि नगर्न अपिल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई जनवर्गीय संगठनले पार्टी एकतालाई कमजोर पार्न कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् ।

विराटनगर स्थित पाञ्चालीमा रहेको पार्टी कार्यालयमा सोमबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई जनवर्गीय संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ मोरङले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्तालाई पार्टी एकतालाई कमजोर बनाउने कुनै पनि गतिविधि नगर्न अपिल गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको केन्द्रीय तहमा देखिएको अन्तर विरोधलाई आधार बनाएर कुनैपनी नेताको पक्ष वा विपक्षमा परिचालित नगर्ने र नगराउने, संगठनले जुनसुकै काॠ गर्दा पनि संस्थागत वा सहमतिका आधारमा मात्र गर्ने र गराउने, पार्टी र जनसंगठन नेता तथा कार्यकर्ताको विषयमा नकारात्मक टीका टिप्पणी नगर्ने र नगराउने, आ–आफ्ना जनसंगठन तथा पार्टीको निर्णयलाई अनुसरण र कार्यान्वयन गर्ने र गराउने , पार्टीलाई एकताबद्ध बनाउन पार्टी नेतृत्वलाई सकारात्मक खबरदारी र दवाद दिने’

पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि ओली पक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताविरुद्ध शुक्रवार विराटनगरमा प्रदर्शन गरेका थिए ।

शुक्रवारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल लगायतका नेतालाई गाली गलौज गरिएको भन्दै दाहाल र माधव नेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले शनिवार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगर समितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाब दिएका छन् ।

दुई पक्षबाट लगातार दबाब भएपछि नेकपा मोरङले अनेरास्ववियू र युवासंघका नेताहरूलाई सोमबार बोलाएर यस्ता गतिविधि रोक्न लगाएको हो। मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेल, सचिव गणेश उप्रेती सुशील सहितको उपस्थितिमा अनेरास्ववियू र युवासँघले पार्टी एकतालाई कमजोर बनाउने कुनै पनि गतिविधि नगर्न अपिल गर्दै विज्ञप्ति निकालेको हो ।

मोरङ पार्टीको तर्फबाट युवा तथा खेलकुद प्रमुख पर्शुराम बस्नेत, उप प्रमुख इश्वरी आचार्य, अनेरास्ववियू इन्चार्ज ओसिम आलम, सह इन्चार्ज भास्कर खनाल, युवा संघ जिल्ला संयोजक नवीन पौडेल, सह संयोजक शंकर भट्टराई तथा अनेरास्ववियू सह संयोजक टेकेन क्षेत्रीको हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा पार्टीलाई थप एकीकृत र मजबुत बनाउन नेतृत्वलाई दबाव दिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *