उपत्यका कोरोनाको नयाँ ‘हटस्पट’ बन्ने जोखिम, २३९ पुगे संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । केही समययता जिल्लाबाट आउने तथा विदेशबाट आउनेको संख्यासँगै संक्रमितको संख्या पनि बढेपछि उच्च जोखिममा परेको छ ।

काठमाडौं उपतयकामा मात्रै अहिले २ सय ३९ जना संक्रमित छन् । काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरी उपत्यकामा हालसम्म २ सय ३९ जना संक्रमित रहेका हुन् । सोमबार मात्रै काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरी ५४ नयाँ संक्रमित थपिएका थिए । उपत्यकामा १० दिनअघि कोरोना संक्रमितको संख्या ७८ जना मात्रै थियो । सोमबार यो संख्या तीन गुणा (२ सय ३९) पुगेको छ ।

भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ । विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो । थप सतर्कता नअपनाए उपत्यकामा सङ्क्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।

सरकारले उपत्यका प्रवेशमा कडाइ गरे पनि लुकीलुकी भित्रिने क्रम रोकिएको छैन । त्यहाँबाट पनि सङ्क्रमित व्यक्ति प्रवेश गर्ने सम्भावना छ । नाकामा अझै कडाइ आवश्यक रहेको र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अप्नाएर काम गर्न जरुरी रहेको टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए ।

उनका अनुसार काठमाडौं उपत्यका कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ बन्ने जोखिम बढ्दै गएको छ । सोमबार थपिएको संख्याले उनको दाबीलाई थप बल मिलेको छ । त्यसमा पनि उपत्यकाका विभिन्न १२ स्थानमा ‘ट्राभल हिस्ट्री’ (यात्राको इतिहास) नै नभएका १२ जनामा संक्रमण देखिएको पुष्टि भएपछि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)लाई कतै समुदायमै पो संक्रमण पुगिसक्यो कि भनेर थप तनाव थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *