को बन्ला नेपाल प्रहरीको आइजिपी ? आज टुंगो लाग्न सक्छ !

काठमाडौं । नेपाल प्रहरी संगठन नयाँ नेतृत्वको पर्खाइमा छ । नेपाल प्रहरीले नयाँ संगठन प्रमुख अर्थात प्रहरी महानिरीक्षक (आईजीपी) पाउने छ । संभवतः मन्त्री परिषद्को आजको बैंठकले आईजीपी तोक्ने छ । आईजीपी ठाकुर ज्ञवालीले असार २४ पछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकास पाउनेछन् ।

हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाल अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । यी तीनमध्ये लम्साल आईजीपी ज्ञवालीकै ब्याचका भएकाले उनले पनि सेवा हदका कारण असार २४ मा अनिवार्य अवकास हुनेछ । त्यसपछि एआईजीद्धय क्षेत्री र पालमध्येबाट एक जनाले उक्त अवधिपछि प्रहरीको नेतृत्व गर्नेछन् ।

लम्साल समेत आइजीपीसँगै अवकास पाउने भएपछि वरिष्ठताका हिसावले थापा अगाडि छन् । चार वर्ष यता प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट एकै पटक आईजीपीमा बढुवा गरिँदै आएकोमा यसपटक एआईजीबाट आईजीपीमा बढुवा हुने अवसर मिलेको छ । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आईजीपी ज्ञवालीले एआइजीको अनुभव हासिल गर्न पाएनन् ।

उनीहरु डिआईजीकै अनुभवमा आईजीपीको नेतृत्व पाउने भाग्यमानी हुन् । २०७० मंसिरमा आईजीपी बनेका उपेन्द्रकान्त अर्यालले १४ दिनमात्रै एआईजीको जिम्मेवारी पाए । त्यसपछि प्रहरीको २५ औं महानिरीक्षक बनेका प्रकाश अर्याल डिआईजीबाट सिधै आईजीपी बनेका हुन् । आईजीपी हुनु अगाडि अर्यालले करिब ४ वर्ष ४ महिनासम्म डिआईजीको जिम्मेवारी सम्हालेका थिए ।

आईजीपीमा प्रतिस्पर्धाको लागि पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल र जयबहादुर चन्दको कडा टक्कर भयो । सरकारले चन्दलाई आईजीपी नियुक्ती सिफारिस गरेसँगै सिलवाल अदालतको ढोका ढक्ढक्याउन पुगे । अदालतले चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय प्रक्रियामा त्रुटि देखाइयो ।

त्यसको फाइदा प्रकाश अर्याललाई बन्यो । उनी आईजीपी बने । आईजीपी छनोटको इतिहास हेर्दा प्रकाश अर्यालको समयमा बढि प्रतिस्पर्धा देखियो । त्यस्तै प्रतिस्पर्धा कुवेरसिंह राना आईजीपी बन्ने समयमा पनि भएको थियो । रानासँगै प्रतिस्पर्धामा एआईजीद्धय नवराज ढकाल र भिष्म प्रसाई थिए ।

त्यस्तै २६ औँ महानिरीक्षक बन्नका लागि तत्कालीन डिआइजीद्वय सर्वेन्द्र खनाल र रमेश खरेलबीच कडा टक्कर थियो । तर डिआईजीमा आफूभन्दा कनिष्ट रहेका खनाललाई सरकारले आईजीपी बनाएपछि खरेलले राजीनामा दिए ।

प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजीबाट वा एआईजी नभएको अवस्थामा डीआईजीबाट बढुवा गर्न सकिने प्रहरी नियमावलीमा उल्लेख छ । आईजीपी पद रिक्त रहँदा संगठनको दोस्रो दर्जामा दुई वरिष्ठ अधिकृत कायमै रहनेछन् ।

त्यसैले एआईजीद्वय क्षेत्री र पालमध्ये एक जनाले प्रहरी संगठनको नेतृत्व सम्हाल्न पाउनेछन् । यी दुई मध्ये क्षेत्री अगाडिको नम्बरमा रहेका छन् । तर पनि आइजिपीको दौडमा रहेका उनीहरु भन्छन्, हामीमध्ये जसलाई बनाए पनि हुन्छ । दुबै भन्छन्, व्यक्ति भन्दा संगठन ठूलो ।

उनीहरू सार्वजनिक कार्यक्रममा सहभागी हुँदा एउटै गाडीमा जाने गरेका छन् । बुधबार बिहान महानगरीय प्रहरी परिसर ललितपुरको गेटमा नेपाल प्रहरीको दुई तारे एक गाडी रोकियो । बा २ झ ३३९२ नम्बरको गाडीमा सवार थिए एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल । उनीहरुले यस पटक सन्देशप्रवाह गर्ने मनसाय देखाए पनि आईजीपीका लागि भित्रभित्र निकै रस्साकस्सी चलेको हो । थापा र पालमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।

प्रधानमन्त्री ओलीको मन जित्ने नै आईजीपीकाे दावेदार

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीको मन जित्नेनै नेपाल प्रहरीको २८ औँ आईजीपी हुनेछन् । थापा र पालले शक्ती संघर्ष नगर्ने बताए पनि भित्रभित्रै दौडधुप चर्काएका छन् । दुबैले नेकपाका नेताहरुसँग छुट्टाछुट्टै भेटघाटलाई बाक्लो बनाएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली सम्म पुग्न दुबैले छुट्टाछुट्टै नेताहरुको प्रयोग गरेको स्रोतले जनाएको छ । दुबैले समुह नै बनाएर सक्रियता बढाएका छन् ।

‘सत्ताधारी पार्टीका अर्का अध्यक्ष प्रचण्ड भन्दा यस पटक प्रधानमन्त्री ओलीलाई नै रिझाउन पर्ने भएकाले दुबैले वालुबाटारमा एक्सेस बढाएका हुन् । थापा र पालमध्ये ओलीको मन जित्नेनै २८ औं आईजीपी बन्ने निश्चित छ ।’ थापालाई बालुवाटार अर्थात प्रधानमन्त्री ओलीको साथ रहेकाले उनी नै आइजीपी बन्ने निश्चित प्राय छ ।

पाललाई भने खुमलटार अर्थात प्रचण्ड लगायत केही पुर्व एमालेहरुले बोकेको चर्चा छ । आईजीपीको बढुवाका लागि गृहमन्त्रालयले मन्त्रिपरिषदमा ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर आईजीपी बनाउनका लागि योग्य उम्मेदवारको नाम सिफारिस गर्छ ।

मन्त्रिपरिषदको निर्णयले मात्र प्रहरी महानिरीक्षक (आईजीपी) तोक्ने कानूनी प्रावधान छ । गृहमन्त्री रामबहादुर थापा समेत ओली कित्तामा रहेकाले प्रधानमन्त्री ओलीको हात माथी रहेको गृह स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *