रुकुम घटनाः अदालतमा किशोरीको बयान– ‘६ जनाको हत्या नै भएको हो’

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनाकी पीडक मानिएकी किशोरीले घटनामा ६ जनाकै हत्या भएको बयान दिएकी छिन् । यसअघि प्रहरीलाई नवराजसहितका युवाको ज्यान जानुमा आफ्नो बाबु र दाइसमेतको भूमिका रहेको बयान प्रहरीसमक्ष दिएकी किशोरीले रूकुम जिल्ला अदालतमा पनि सोही बयान दिएकी हुन् ।

बाल सुधार गृहमा रहेकी किशोरीले अदालतसमक्ष भनेकी छिन्–‘प्रतिवादीहरुले केटाहरुको पिछा गर्दै जाने क्रममा चौरजहारीको गोइरी औलमा फेला पारी घेरा हाली लखेटेका थिए । भेरीको किनारमा पुर्‍याएर कुटपिट गरेको भन्ने थाहा पाएँ । प्रतिवादीहरुकै कुटाईबाट नवराज बिकसहित ६ जनाको मृत्यु भएको थाहा पाएँ ।’

नवराज बिक र ती किशोरीबीच गएको चैत महिनाको १४–१५ गतेसम्म माया प्रेम बसेको थियो । फोनमा कुराकानी हुने, फेसबुकमा च्याट हुने, भिडियो कल हुने र भेटघाटसमेत हुने गर्थ्यो ।

प्रेमसम्बन्धमा रहेकै समयमा नवराज आफ्नो घरमा आएर रातको समयमा आफू र मामाघरको बज्यै सुतेको ठाउँमा ढुंगा हानेको पनि उनले बयान दिएकी छिन् । त्यस समय ढुंगा हानेकोबारे आफूलाई थाहा नभएको तर बज्यैले देखेको उनको भनाइ छ । ‘बिहानपख बज्यैले बुवाआमालाई रातिको कुरा भन्नुभएको रहेछ। बिहानपखसमेत नवराज मेरै घर वरपर घुमफिर गरेको देखि बुवा, आमा दाइले नियन्त्रणमा लिई सामान्य हातपात गरी सम्झाइबुझाई गरी छाडेका थिए’, उनले अदालतसमक्ष बयान दिएकी छिन् ।

घटनापछि उनलले नवराजलाई फेसबुकमा ब्लक गरेको बताएकी छिन् । उनले बयानमा भनेकी छिन्– ‘उक्त घटना पश्चात मैले आफ्नो प्रतिष्ठामा आँच आएको महसुस गरी सोही दिनदेखि नवराजलाई फेसबुकमा ब्लक गरेको थिएँ । उनीसँग मेरो भेटघाट हुँदैन्थ्यो । तर, वैशाख महिनामा एकपटक भाइको मोबाइलबाट गोठाला जाँदा नवराजसँग मोबाइलमा म्यासेज गरी कुराकानी गरेको थिएँ । त्यसपछि उनीसँग मेरो कुनै पनि चिजबाट सम्पर्क भएको छैन । वारदात भएको मितिमा मैले उनलाई बोलाएको होइन । नवराज के–कसरी केटा लिएर आएको हो मलाई थाहा भएन । मैले नवराजलाई कुटपिट गरी मारेको छैन ।’

प्रेमिका लिन १९ जना साथीहरु लिएर चौरजहारी पुगेका जाजरकोटका नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीचभागमा फेला परेको थियो । त्यसपछि उनका अन्य ५ जना साथीहरूकाे पनि भेरी नदीमै शव फेला परेकाे थियाे । उनिहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेट्ने क्रममा निर्घात कुटपिट गरी हत्या गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा ३४ जना विरुद्ध आजन्म कैदको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले रूकुम जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे । चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरको र अन्यलाई घाइते बनाएको तथा छुवाछुतको विभेद गरेको भन्दै तीनवटा कसुरमा मुद्दा दर्ता गरिएको हाे । सबैकाे बयान लिने क्रम जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *