कोभिड–१९ ले सुतेको भक्तपुर दरबार स्क्वायर उठ्न खोज्दै (फोटो फिचर)

भक्तपुर । कोभिड–१९ ले मुलुकको अर्थतन्त्र र जनजिवन शुन्य जस्तै भइरहेको बेला राजनीति वृत्तमा सत्तारुढ दलभित्रै देखिएको अन्तरद्वन्द्वले जनतामा बर्तमान सरकारबाट आश समेत मरिसकेको अवस्थामा भक्तपुरको पर्यटकीय क्षेत्रका जनताहरु भने कोभिड–१९ अगाडीकै अवस्थामा फर्कने प्रयासमा छन् ।

सरकारले साउन ७ गतेसम्मका लागि लकडाउन घोषणा गरेको भएपनि लकडाउनले थिलोथिलो भएको पर्यटन व्यवसाय उकास्न भक्तपुर दरबार स्वाएरका व्यवसायीहरु उठ्ने तयारीमा छन् ।

२०७२ सालको महाभुकम्पले धरासायी भएका ५५ झ्याले दरबार, न्यातपोल मन्दिर लगायत ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माण भइसकेका त छैनन् तर, कोभिड–१९ अगाडी खचाखच आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दथे । चैत्र ११ यता भक्तपुरमा पर्यटकको आवागमन शुन्य जस्तै थियो । ‘पहिले दिनकै हजार पन्द्रसय पर्यटक देखिन्थे, अहिले तीन महिना यता एक जनापनि देखिएन ।’ न्यातपोल मन्दिर अगाडी आर्ट गरेका टिसर्टहरु विक्रि गर्ने राजेशमान महर्जनले भने । लकडाउन यता उनले आइतबारबाट मात्रै पसल खोलेका हुन् । ‘मुसाले कपडा काट्यो कि जस्तो लाग्यो, आइतबार विहानै सरसफाइ गरें, ग्राहक त कहाँ आउनु सर, यसो बसिबियालो मात्र हो ।’ राजेशका अनुसार अहिले विस्तारै आन्तरिक पर्यटक र स्थानीयहरु भने दरबार स्वायर घुम्न आउने गर्न थालेका छन् ।

एक साता यता साँझ विहान दरबार स्वायर घुम्ने नेपालीहरुको संख्या बढ्दो छ । तर, दरबार स्वायर सुचना केन्द्रले भने भित्री भागहरु खोल्न सकेको छैन । ‘कोरोना भाइरस बढेको बढै छ, कसरी खोल्ने ? यो वर्ष त पिक आवरमै यस्तो भइदियो ।’ पर्यटन सुचना केन्द्रका एक अधिकारीले भने ।

५५ झ्याले दरबार अगाडी क्याफे चलाएका नरेन्द्र प्रजापति कोरोनाले यस्तो अवस्था ल्याउला भन्ने सोचेका पनि थिएनन् । कोरोना अघि दैनिक १०/१५ हजारको विक्रि गर्ने उनको क्याफे दुई साता यता मात्रै खुलेको हो । ‘के गर्नु भाडा तिर्नुपर्छ, स्टाफलाई निकाल्न पनि भएन, बरु सोसल डिस्ट्यान्स राखेर चलाउँछु भनेर खोलेको हुँ ।’ अहिले उनकोमा फाट्टफुट्ट ग्राहक आउन थालेका छन् ।

‘कोरोना सर्यो भने के गर्नु हुन्छ ?’ नरेन्द्र प्रजापतिलाई प्रश्न सुनेरै दिक्क लागेछ । ‘दिनदिनै कोरोना कोरोना सुन्दा हैरान भइसके, खानु पर्यो, बालबच्चा बढाउनु पर्यो, पसलको भाडा पनि तिर्नुपर्यो केले पुर्याउने ? उल्टै प्रश्न गरे ।

नरेन्द्रले क्याफेमा आउने ग्राहक र आफ्नै स्वास्थ्यलाई ख्याल गर्दै स्यानिटाइजरको ब्यवस्थापन गरेका छन् । कुर्चीहरुको दुरी फराकिलो बनाएका छन् । भित्र पस्ने वित्तिकै कर्मचारीले पहिला ग्राहकलाई सेनिटाइजर दिने गरेका छन् ।

न्यातपोल छेउमा परम्परागत माटोबाट निर्माण गरीएका हस्तकलाका सामग्री विक्रि गर्ने इश्वर प्रजापतिले पनि तीन दिन यता पसल खोलेका छन् । प्रायः विदेशीले मात्र उनको पसलका सामग्री लैजान्छन् तर, लकडाउन यता न्यातपोल एरियामा विदेशी देख्नै पाएका छैनन् ।

‘घुम्ने अवस्था छैन, कहाँबाट आउनु र टुरिष्ट हरु, अस्ति आइतबार दुई जना चाइनिजहरु देखेको थिएँ, तिनीहरु पनि लकडाउनमा यतै फसेका रहेछन् ।’ दैनिक पाँच देखि ८ हजारको माटोका सामग्री विक्रि गर्ने इश्वरले तीन दिन यता ५ सयको विक्रि गरेका रहेछन् । ‘नेपालीहरुले खासै किन्दैनन्, विदेशी छैनन् तैपनी दिन कटाउन खोलेको हुँ ।’ ५३ वर्षिय इश्वर भन्छन् ।

भक्तपुर घुम्न आउनेहरूले त्यहाँकाे कलासंस्कृति सँगै केहि परिकार पनि अत्याधिक मन पराउँछन् । नेवारी परिकार खानका लागि हाेस वा भक्तपुरकाे प्रसिद्ध जुजु धाै (दही) खान दरबार स्वाएर जानेहरूकाे संख्या अत्याधिक छ । अहिले भक्तपुरकै आलुचा पनि प्रख्यात भइरहेकाे छ ।

भक्तपुरमा एकसाता यता चलहपहल बढेको छ । फलफुल पसल, सामान्य क्याफे, रेष्टुरेन्टहरु, विदेशी मुद्रा सटही केन्द्र खुलेका छन् । ठूल्ठूला होटलहरुपनि अब खुल्ने क्रममा छन् ।

हेर्नुहोस भक्तपुरको ऐतिहासिक दरबार स्वायर, न्यातपोलको चहलपहल

   

 

 

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *